ग्रामीण किसानलाई आयआर्जनमा टेवा: तानसेन–५ मा बाख्रा उपहार कार्यक्रम
पाल्पा-तानसेन नगरपालिका–५ का कृषक विष्णु विक र अर्जुन बहादुर विकले बाख्रा उपहारस्वरूप पाउँदा निकै खुशी लागेको बताउनुभयो । उहाँहरूले ग्रामीण क्षेत्रमा आयआर्जनको प्रभावकारी माध्यमका रूपमा बाखापालनलाई लिने गरिएको बताउँदै यस्तो कार्यक्रमले किसानहरूलाई थप उत्साहित बनाएको बताउनुभयो । विष्णु विकले साना कृषकका लागि धेरै लगानी नलाग्ने र छिटो आम्दानी दिन सक्ने भएकाले बाख्रापालन उपयोगी व्यवसाय भएको बताउनुभयो । उहाँले यसअघि सामान्य रूपमा पशुपालन गर्दै आएको भए पनि अब भने व्यवस्थित रूपमा बाख्रापालन गरेर आयआर्जन बढाउने योजना रहेको बताउनुभयो । त्यसैगरी अर्जुन बहादुर विकले बाख्रा उपहार कार्यक्रमले गाउँका विपन्न तथा साना किसानलाई ठूलो राहत मिलेको बताउनुभयो । उहाँले बाखापालनलाई राम्रोसँग व्यवस्थापन गर्न सके परिवारको खर्च धान्न सहज हुने र भविष्यमा थप आयआर्जनको बाटो खुल्ने बताउनुभयो । स्थानीय सरकारले किसानको जीवनस्तर सुधार गर्न यस्तो कार्यक्रम सञ्चालन गरेकोमा उहाँहरूले खुशी व्यक्त गर्नुभयो । साथै, यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसानहरू आत्मनिर्भर बन्न सक्ने उहाँहरूको भनाई छ ।
तानसेन आर्थिक विकास परियोजना अन्तर्गत बाख्रा उपहार कार्यक्रम तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक एवम प्राविधिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रमअन्तर्गत दुर्गा देवी महिला समूहका २५ जना सदस्यलाई बाख्रा वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले ग्रामीण भेगका नागरिकहरूलाई उद्यमशील कार्यमार्फत स्वरोजगार बनाउने उद्देश्यले बाख्रा उपहार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तानसेन नगरपालिकाले ग्रामीण क्षेत्रका नागरिकहरूको आर्थिक अवस्था सुधार गर्न कृषि र पशुपालनमा आधारित विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले कृषकहरूलाई उत्पादनमुखी कार्यमा संलग्न गराई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्थानीय तहले कृषकहरूको आयआर्जन वृद्धि गर्न तथा उहाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न योजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई स्वरोजगार बनाउने र गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले कृषि र पशुपालन ग्रामीण अर्थतन्त्रको मुख्य आधार भएको बताउनुभयो । उहाँले ग्रामीण समुदायको आर्थिक विकासका लागि स्थानीय सरकार, विकास साझेदार संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । यस्ता कार्यक्रमले कृषकहरूलाई व्यवसायिक रूपमा पशुपालनतर्फ आकर्षित गर्ने र आयआर्जन बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । बाख्रापालन ग्रामीण क्षेत्रका किसानका लागि सजिलो र लाभदायक व्यवसाय भएकाले यसलाई अझ व्यवस्थित रूपमा विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । त्यसैगरी ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला कार्कीले हेफर परियोजनाले समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले हेफर परियोजनाले साझेदारी र सहभागिता, उत्तरदायित्व, आत्मनिर्भरता, समानता तथा ज्ञान र सीपको हस्तान्तरण जस्ता पाँच आधारशिलालाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो । समुदायको सक्रिय सहभागिता, सहकार्य र पारस्परिक सहयोगबाट मात्रै दिगो विकास सम्भव हुने उहाँले बताउनुभयो । साथै, समुदायमा आधारित यस्ता कार्यक्रमले स्थानीय कृषकहरूको क्षमता विकास गर्न तथा उहाहरूलाई व्यवसायिक पशुपालनतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा तानसेन नगरपालिका योजना शाखा प्रमुख दुर्गा थापा,शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने, हेफर प्राेजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाकर न्यौपाने लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । ग्रामीण आर्थिक विकास संघ रेडाका प्राविधिक संयोजक विष्णु रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रम तानसेन नगरपालिका–५ का वडा अध्यक्ष राम बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले बाख्रा उपहार कार्यक्रमले ग्रामीण समुदायको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो । आयोजक संस्थाले कृषकहरूलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उहाहरूको जीविकोपार्जनमा सुधार ल्याउने तथा दिगो आर्थिक विकासको आधार तयार गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएको छ ।








































Comments