ग्रामीण अर्थतन्त्र बलियो बनाउन तानसेनमा कृषकलाई बाख्रा वितरण
पाल्पा — तानसेन नगरपालिका अन्तर्गत वडा नं. ७ स्थित सुन्दर गाउँ स्वावलम्बन समूहका २६ जना कृषकलाई बाख्रा वितरण गरिएको छ । तानसेन आर्थिक विकास परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा कृषकहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको हो । कार्यक्रम तानसेन नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक एवम प्राविधिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सञ्चालन गरिएको हो । परियोजना तानसेन नगरपालिकाका ११ वटा वडामा कार्यान्वयन भइरहेकाे छ । कम लगानीमा छिटो आम्दानी गर्न सकिने पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्दै ग्रामीण क्षेत्रका साना किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले बताउनुभएको छ । कार्यक्रममार्फत कृषकहरूलाई पशुपालनतर्फ आकर्षित गराई उहाहरूको आर्थिक अवस्था सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले कृषि र पर्यटनको माध्यमबाट तानसेनको समग्र विकास सम्भव रहेको बताउनुभयो । उहाँले तानसेन नगरपालिकाले ग्रामीण भेगका कृषकहरूलाई उद्यमशील बनाउने उद्देश्यले विभिन्न कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । “कृषि र पशुपालन हाम्रो अर्थतन्त्रको बलियो आधार हो, यसलाई व्यवसायिक रूपमा अघि बढाउन सकेमा किसानहरूको जीवनस्तरमा ठूलो परिवर्तन आउँछ,” उहाँले भन्नुभयो । नगरप्रमुख श्रेष्ठले बाख्रा वितरण कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै नगरपालिकाले कृषकहितका कार्यक्रमहरूलाई आगामी दिनमा अझ विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले कृषकहरूको क्षमता अभिवृद्धि र उत्पादन वृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले कृषकहरूलाई प्राप्त अवसरको सदुपयोग गरी व्यावसायिक रूपमा पशुपालन गर्न आग्रह गर्नुभयो । त्यसैगरी ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीले संस्थाले स्थानीय तहसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले यो परियोजना तानसेन नगरपालिकामा ४ करोड ५८ लाख ५ हजार ३ सय ८० रुपैयाँमा सञ्चालन भएको बताउनुभयो । जसमा तानसेन नगरपालिकाको ३ करोड १७ लाख १ हजार ४ सय ५२ र हेफर प्रोजेक्ट नेपालको १ करोड ४१ लाख ५१ हजार ६ सय २८ रुपैयाँ लगानी रहेको छ । तानसेन नगरका ११ वडामा २१ महिनाका लागि कार्यक्रम सम्झौता गरी सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा रेडाका कार्यक्रम संयोजक चन्द्र बहादुर रानाले परियोजनाले कृषकहरूलाई तालिम, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा पनि सहयोग गर्ने बताउनुभयो । रेडाका लेखा अधिकृत कृष्ण अर्याल लगायतको उपस्थिति रहेको कार्यक्रममा कृषकहरूलाई पशुपालन व्यवसायलाई व्यवस्थित बनाउन सुझावसमेत दिइएको थियो ।
कार्यक्रममा सहभागी स्थानीय कृषकहरूले बाख्रा वितरण कार्यक्रमले आफ्नो जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । स्थानीय कृषक कल्पना जी.सी.ले साना किसानका लागि यस्तो सहयोग निकै महत्वपूर्ण भएको बताउँदै अब पशुपालनलाई व्यवसायिक रूपमा अघि बढाउने योजना रहेको बताउनुभयो । त्यस्तै पुष्पा बुचाले बाख्रा पालनबाट घरपरिवारको आम्दानी बढाउने लक्ष्य रहेको बताउनुभयो भने तुल्सीबहादुर पाँडेले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम तानसेन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रदिप खनालको अध्यक्षता तथा ग्रामीण आर्थिक विकास संघ (रेडा) का प्राविधिक संयोजक विष्णु रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी कृषकहरूले आगामी दिनमा पनि यस्ता उत्पादनमुखी कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय सरकारसँग आग्रह गर्नुभएको छ ।








































Comments