फागुन १ गतेबाट दोश्रो बगनासकाली महोत्सव सुरु हुने, पत्रकार भेटघाट सम्पन्न
पाल्पा-स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, भाषा, कला तथा संस्कृतिको संरक्षण र स्थानीय उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको दोश्रो बगनासकाली महोत्सव २०८२ फागुन १ गतेबाट सञ्चालन हुने भएको छ । महोत्सवको तयारी, उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले बगनासकाली गाउँपालिकामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बगनासकाली गाउँपालिका अध्यक्षले महोत्सवले गाउँपालिकाको समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिका प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यस्ता महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्षले स्थानीय किसान तथा उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारसम्म पुर्याउने अवसर महोत्सवले सिर्जना गर्ने र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो ।
अध्यक्षले बगनासकाली गाउँपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले कुडुले घर, कृत्रिम ताललगायतका पर्यटकीय संरचनाहरू महोत्सवको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने बताउँदै यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा व्यक्त गर्नुभयो । साथै स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि महोत्सव महत्वपूर्ण माध्यम हुने अध्यक्षको भनाइ थियो ।
कार्यक्रम बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि पाठकको स्वागत सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन गाउँपालिकाका प्रवक्ता टिका थापाले गर्नुभएको थियो । उपाध्यक्ष पाठकले महोत्सवले पाल्पा जिल्लाको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै यसले स्थानीय उद्यमशीलता प्रवर्द्धन तथा किसानका उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महोत्सवमार्फत स्थानीय उत्पादनको पहिचान र मूल्य अभिवृद्धि हुने र यसले गाउँपालिकाको राजस्व वृद्धिमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
उपाध्यक्ष पाठकले महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री तथा शैक्षिक सामग्रीको प्रदर्शनी राखिने जानकारी दिँदै यसले विद्यार्थी, किसान र उद्यमीहरूलाई आफ्ना सिर्जना र उत्पादन प्रदर्शन गर्ने अवसर दिने बताउनुभयो । साथै बाल उद्यान, अटोमोबाइल स्टल, होटल तथा खानाका स्टलहरू रहने र यसले मनोरञ्जन तथा व्यापारिक गतिविधि बढाउने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल राज तिमिल्सिनाले महोत्सवले स्थानीय पहिचान, संस्कृति र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने भएकाले सञ्चार माध्यमको सक्रिय भूमिका रहने बताउनुभयो । उहाँले यस्ता महोत्सवले स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने उल्लेख गर्दै महोत्सवको प्रचार–प्रसारमा पत्रकार महासंघ र सञ्चारकर्मीहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले स्थानीय सरकार, आयोजक संस्था र सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै महोत्सवलाई सफल बनाउन सबै सरोकारवालाको साझा प्रयास आवश्यक पर्ने धारणा राख्नुभयो । उहाँले यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनसँगै युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । गाउँपालिकाको मेला महोत्सव सञ्चालन कार्यविधि २०८२ अनुसार आयोजना हुन लागेको दोश्रो बगनासकाली महोत्सव फागुन १ गतेदेखि १० गतेसम्म बगनासकाली गाउँपालिका–१ स्थित चिलाउदी खेल मैदानमा सञ्चालन हुनेछ । महोत्सवमा १ सय ९ वटा प्रदर्शनी तथा व्यापारिक स्टलहरू, होटल तथा खानाका स्टल, बाल उद्यान तथा अटोमोबाइल स्टलहरू रहने आयोजकले जनाएको छ ।
महोत्सवमा बगनासकालीका किसानहरूले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शनी हुनेछ भने विद्यार्थीहरूले निर्माण गरेका शैक्षिक सामग्रीहरू पनि प्रदर्शनीका लागि राखिनेछ । घरेलु तथा मेगा कार्यक्रमअन्तर्गत विभिन्न प्रदर्शनी स्टलहरू रहने र स्थानीय उत्पादनको बिक्री वितरण गरिने आयोजकले जनाएको छ । साथै बगनासकालीका किसानहरूले उत्पादन गरेका दूधबाट तयार गरिएको ताजा कुराउनी तथा खिर बगनासकालीमै बनेको दुनामा बिक्रीमा राख्ने व्यवस्था मिलाइने बताइएको छ । यसको व्यवस्थापन बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले गर्ने जनाएको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रम्भा पुल, कँडुले घर तथा कृत्रिम ताल रहनेछन् । महोत्सव अवधिभर हरेक दिन स्थानीय कला संस्कृति सहित स्थानीय कलाकारलाई प्राथमिकता दिइनेछ भने राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । महोत्सवमा भजनकृत प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता र एकल लोक गायन प्रतियोगिता आयोजना गरिनेछ, जसले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवको उद्घाटन फागुन १ गते बिहान ११ बजे हुने र उद्घाटन अवसरमा स्थानीय कला संस्कृति सहित झाँकी र्याली आयोजना गरिने बताइएको छ । झाँकी र्यालीमा कोरा, सोरठी, पञ्चेबाजा, झ्याउरे, भजन लगायतका सांस्कृतिक प्रस्तुति देखाइनेछ । उत्कृष्ट झाँकी प्रस्तुत गर्ने समूहलाई आयोजक क्लबले पुरस्कारको व्यवस्था गर्ने जनाएको छ । महोत्सवमा सर्वसाधारणका लागि टिकटदर ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।
स्थानीय सरकार, आयोजक संस्था, सञ्चार माध्यम तथा समुदायको सहकार्यमा महोत्सवलाई सफल बनाउन सबै सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।








































Comments