फिफाद्वारा स्कूलस्तरमा फुटबल प्रवर्द्धन कार्यक्रम पाल्पाबाट शुरू
तानसेन (पाल्पा)— फिफाद्वारा सञ्चालन हुने ‘स्कूलहरूका लागि फुटबल वितरण कार्यक्रम तानसेन नगरपालिका, पाल्पामा औपचारिक रूपमा उद्घाटन गरिएको छ । कार्यक्रम पाल्पा जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न हो ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेवाङगले यो कार्यक्रम विश्वका १३७ राष्ट्रमा सञ्चालन भइसकेको जानकारी गराउनुभयो । उहाँका अनुसार नेपालका ७७ वटै जिल्लामा कार्यक्रम विस्तार भइरहेकामा पाल्पाको २६ विद्यालय, लुम्बिनी प्रदेशका १२ जिल्लाका ११ सय विद्यालय र ७७ वटा जिल्लामा ३६ हजार फुटबल वितरण गरिने बताउनुभयो । नेवाङले विधालय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै फुटबलले शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य र सकारात्मक सोच विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले कार्यक्रम शुरू गरिएको बताउनुभयो । साथै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । पाल्पा ऐतिहासिक नगर भएको र जिल्लामा खेलकुदको सम्भावना रहेकाले आगामी दिनमा ठूला प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने तथा रेफ्री उत्पादन तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।
त्यसैगरी अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दिपक खतिवडाले नेपालको फुटबल भविष्य बलियो बनाउन सबै तहमा योजना अघि बढिरहेको बताउनुभयो । उहाँले फुटबललाई विद्यालयदेखि समुदायसम्म विस्तार गर्न आवश्यक पहल भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार बालबालिकामा खेलप्रति लगाव र अनुशासन निर्माण यो कार्यक्रमका मुख्य लक्ष्यको बताउनुभयो । उहाँले भक्तपुरको सिद्धविनायकमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य तीव्रगतिमा चलिरहेको जानकारी दिनुभयो । फुटबलप्रति समर्पण र एकता आवश्यक रहेको बताउँदै उहाँले सबैको निरन्तर साथ र समर्थनको अपेक्षा गर्नुभयो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले युवा विद्यार्थी खेलाडीहरूमा उत्साह थप्ने उद्देश्यले गरिएको कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रपति रनिङ शिल्ड र मेयर कप समेत आगामी दिनमा सञ्चालन गरिने उल्लेख गर्दै, खेल क्षेत्र सशक्त बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले खेलकुदका गतिविधिले युवाहरूलाई अनुशासन, आत्मनिर्भरता र सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष मनोज लिगतको स्वागत मन्तव्य,वरिष्ठ उपाध्यक्ष प्रज्वल राज शाक्यको कार्यक्रम संयोजन,पाल्पा जिल्ला फुटबल संघका सदस्य करण चित्रकारको सञ्चालन तथा संघका अध्यक्ष प्रणय वीर जंग राणाको अध्यक्षतामा सम्पन्न भएको थियो ।








































Comments