छहरा स्वास्थ्य चौकीमा टि.एफ.टि. सेवा सुरु
पाल्पा–रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकीमा अबदेखि थाइराइड तथा अन्य हर्मोनल जाँच गर्न सकिने टि.एफ.टि. (Thyroid Function Test) मेसिनबाट सेवा सुरु भएको छ । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ डिस्ट्रक्ट ३२५ पि द्वारा उक्त मेसिन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
बुधबार आयोजित कार्यक्रममा लायन्स क्लबका प्रतिनिधिहरूले गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, लेखा अधिकृत लिलामणि बश्याल, जनस्वास्थ्य अधिकृत जिबन राना लगायतको उपस्थितिमा मेसिन हस्तान्तरण गरेका थिए । गाउँपालिका अध्यक्ष भट्टराईले प्राप्त मेसिन स्वास्थ्य चौकी प्रमुख सीताराम कुमार यादवलाई औपचारिक रूपमा बुझाउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भट्टराईले अब गाउँपालिकामा थाइराइड जस्ता जटिल स्वास्थ्य समस्याहरूको प्रारम्भिक परीक्षण सुविधा उपलब्ध भएको उल्लेख गर्नुभयो । उहाँले यस सेवाले गाउँबासीलाई सजिलै स्वास्थ्य सेवा लिन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष थापाले पहिले यस किसिमको परीक्षणका लागि गाउँबासीलाई शहर धाउनुपर्ने बाध्यता रहे पनि अब घर नजिकै सुविधा उपलब्ध हुँदा समय र खर्च दुवै बच्ने धारणा राख्नुभयो । जनस्वास्थ्य अधिकृत रानाले मेसिन सञ्चालनमा आएपछि नियमित स्वास्थ्य परीक्षणमा सहजता आउने र विशेषगरी महिलामा बढी देखिने थाइराइड सम्बन्धी समस्या पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो ।
लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ डिस्ट्रक्ट ३२५ पि का प्रतिनिधिले सामुदायिक स्वास्थ्य सेवामा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै, आगामी दिनमा पनि यसैगरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब छहरा स्वास्थ्य चौकीमा थाइराइड तथा अन्य हर्मोनल जाँच सेवा उपलब्ध भएकाले गाउँपालिकाबासीलाई उक्त सेवाबाट लाभ लिन अनुरोध गरिएको छ ।








































Comments