चुनौतीहरू पार गर्दै सफलताको शिखरमा पुगेका असिमबाबु

"सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ ।" – अब्राहम लिंकनको यो भनाइसंग असिम बाबु गरुङ्गेको कथा ठ्याकै मेल खान्छ। असिम बाबु गरुङ्गे, एक प्रतिभाशाली बायोमेडिकल इन्जिनियर र उत्कृष्ट बडिबिल्डर, आफ्नो जीवनमा अकल्पनीय चुनौतीहरू पार गर्दै सफलताको शिखरमा पुगेका छन्। नवलपरासीको प्रसौनी भेउरन भन्ने ठाउँमा २०४७ सालको असोज १६ गते जन्मेका असिमको बाल्यकाल साह्रै चुनौतीपूर्ण रह्यो।

बाल्यकालका कठिन दिनहरू

उनका बुवा बिर बहादुर गरुङ्गे प्रहरी सेवामा संलग्न थिए भने आमा कुसुम कुमारी गरुङ्ग गाउँघरको काममा ब्यस्त रहन्थिन्। सानैदेखि होस्टेलमा बसेका असिमले दीपेन्द्र प्रहरी विद्यालय, साँगामा अध्ययन गर्दा एक्लोपन र अभावको सामना गर्नु परेको थियो। विशेष गरी एक दशैंको छुट्टीमा सबै साथीहरु घर गएर खुशी मनाउँदा उनलाई लिन कोही नआउँदा, त्यो पल आजसम्म पनि उनको मनमा ताजै छ।

खेलमा उत्कृष्टता

एक्लोपनलाई हराउन उनले खेलकुद र पढाईमा आफुलाई व्यस्त राखे। फुटबल र तेक्वान्दोमा असिमले उत्कृष्टता हासिल गरे। तेक्वान्दोमा ब्ल्याक बेल्ट र फुटबल प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि जित्दै उनले आफुलाई खेलकुदमा अब्बल सावित गरे। जिमको सौख भने उनलाई प्लस टु सकाएपछि लाग्यो। पकेट मनी र कहिलेकाहीँ सापट लिएर पनि उनले व्यायाम जान निरन्तर कायम राखे।

बडिबिल्डिंगमा यात्रा

बलिउड अभिनेता सलमान खान र अमेरिकी बडिबिल्डर आर्नोल्ड श्वार्जनेगरबाट प्रेरित असिमले १५ वर्षसम्म जिममा कठिन परिश्रम गरे। २०७९ सालमा आयोजित १६औं धर्मश्री प्रतियोगितामा पहिलो पटक भाग लिएर उनले ६५ केजी तौल वर्गमा टप ६ मा स्थान प्राप्त गरे। त्यसपछि उनले ९औं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक, ८औं मिस्टर हिमालय प्रतियोगितामा स्वर्ण पदक, र ५५औं एसियन प्रतियोगितामा रजत पदक जित्दै आफ्नो स्थान सुरक्षित गरे।

परिवार र व्यक्तिगत जीवन

असिमको व्यक्तिगत जीवनमा पनि केही अविस्मरणीय पलहरू छन्। एक छोरा पाएको दिन उनलाई सबैभन्दा खुशीको दिन रह्यो भने, श्रीमतीलाई डेलिभरी पश्चात् आईसियुमा राख्नुपरेको क्षण र एसियन प्रतियोगितामा स्वर्ण पदक जित्न नसकेको समय उनको जीवनको कठिन पलहरू रहे। अहिले उनी Muscle and Fitness, Gym X, र Waterfront Fitness Studio मा नियमित जिम गरिरहेका छन्।

हालको जीवनशैली र डाइट प्लान

उनको दैनिक जीवनशैली निकै अनुशासित छ। उनी एक गिलास मन तातो पानीले दिनको सुरुवात गर्छन् र सन्तुलित खानपानमा ध्यान दिन्छन्। ब्रेकफास्टमा एग्सको आमलेट, फलफूल र कफि, लन्चमा दाल, भात, तरकारी, र अचार, मिड स्न्याक्समा फलफूल वा जुस, प्रि-वर्कआउटमा ओट्स, र पोस्ट-वर्कआउटमा एग वाइट, ग्रिल पनिर, बोईल चिकन, गाजर, ब्रोकाउली, आलु, र सलाद समावेश हुन्छ।

भावि योजनाहरू

असिमले बडिबिल्डिंगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छाउने लक्ष्य राखेका छन्। तर, हाल परिवारिक जिम्मेवारीलाई प्राथमिकता दिँदै आफ्नो जीवनलाई संतुलित बनाउनमा ध्यान दिइरहेका छन्। देशको परिवेश अनुसार योजना बनाउँदै, बडिबिल्डिंगमा निरन्तरता कायम राख्दै, परिवारसँग सुखद जीवन बिताउने उनको उद्देश्य राख्ने असिम बाबु गरुङ्गेको यो प्रेरणादायक यात्रा, संघर्ष, समर्पण, र साहसको उत्कृष्ट उदाहरण हो। उनले आफ्नो लगनशीलता र मेहनतको बलमा खेलकुद र व्यक्तिगत जीवनमा सफलता हासिल गरेका छन्। उनको योगदानको कदर गर्दै उनलाई  राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघबाट २०७९ सालमा उत्कृष्ट वर्ष खेलाडीको रुपमा सम्मानित समेत गरिएको थियो । आजको युगमा, उनीजस्ता व्यक्ति समाज र राष्ट्रका लागि प्रेरणा स्रोत बन्न सक्दछन्।

Comments