चालु वर्षमा तानसेन खानेपानी ट्याङ्कीका लागि १० करोड बजेट : मन्त्री यादव
पाल्पा — संघीय खानेपानी मन्त्री प्रदीप यादवले तानसेनमा खानेपानी आपूर्तिलाई थप व्यवस्थित बनाउने उद्देश्यले प्रस्तावित ५० लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।
शनिबार तानसेनमा आयोजित तानसेन खानेपानी उपभोक्ता समितिको दशौं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री यादवले बाँकी आवश्यक बजेट पनि क्रमिक रूपमा व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे। कुल लागत ३५ करोड रुपैयाँ अनुमान गरिएको उक्त ट्याङ्की निर्माण योजनाले तानसेनको दीर्घकालीन खानेपानी समस्या समाधानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
“तानसेनमा खानेपानीका लागि कुनै पनि बजेट अभाव हुन दिने छैनौं,” मन्त्री यादवले प्रष्ट पार्दै थपे, “दशैँपछि बाँकी बजेट पनि सुनिश्चित गरेर योजना कार्यान्वयनमा लैजानेछौं । उनले उपभोक्ताबाट लिइँदै आएको लिफ्टिङ खानेपानी कर पूर्ण रूपमा हटाइएको जानकारी पनि गराए । “अब जनताको पानीमा शतप्रतिशत सरकारी लगानी हुनेछ,” मन्त्री यादवले भने,संघीय सरकारले ८५ प्रतिशत र प्रदेश तथा स्थानीय सरकारले १५ प्रतिशत लगानी गर्ने गरी स्रोत व्यवस्थापनको मोडल तयार गरिएको उनको भनाइ थियो ।
खानेपानीलाई आधारभूत अधिकारको रूपमा लिँदै सरकारले ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिएको संघीय सांसद ठाकुर गैरेले बताए । उनका अनुसार ९५ प्रतिशत नागरिक अहिले खानेपानी सेवामा पहुँचमा पुगेका छन् भने अब शतप्रतिशत सुनिश्चित गर्ने सरकारको योजना रहेकाे बताए । कार्यक्रममा संविधान सभा सदस्यहरु नारायणी शर्मा, लिला सोमै, पूर्व सांसद यादव बहादुर रायमाझी, लुम्बिनी प्रदेशका सांसद् तथा पूर्वमन्त्री विरबहादुर राना, प्रदेश सांसद् इन्द्र गहतराज, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्ती, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र विक, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी तोयनाराण सुवेदी, समितिका पूर्व अध्यक्ष हरी रायमाझी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अहिले तानसेनमा खानेपानीको कुनै पनि समस्या नरहेको बताए । उनले ९५ प्रतिशत लिफ्ट खानेपानीबाट पानीको व्यवस्थापन गरेको समितिले कालीगण्डकी नदी, सिस्ने, तीनधारा, होलाङ्दी, बााझा कुरुङ्खोला लगायतका स्थानबाट पानी ल्याएर वितरण गरेको उल्लेख गरे । समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष लालमने अदैपुनको स्वागत, सचिव प्रेमबहादुर मल्लको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा समितिले स्थापनकालदेखी समितिमा रहेर सहयोग गर्ने समितिका सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।








































Comments