बुटवलमा उपचार विवाद: महिलाको मृत्यु, तीन जना पक्राउ

पाल्पा – बगनासकाली–२ की गीता पाण्डेको मृत्युको विषयलाई लिएर तीन जनालाई पक्राउ गरिएको छ। गर्भबारे जाँच गर्न बुटवल झर्नुभएकी पाण्डेको क्लिनिकका कारण मृत्यु भएको भन्दै तीन जनालाई पक्राउ गरिएको हो। प्रहरीले तत्काल तीन जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। स्रोतका अनुसार खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार महिलाको मृत्यु भएपछि श्रीमानले उचित कारबाहीका लागि प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्नुभएको थियो।

 

बैशाख ५ गते आफ्ना श्रीमानसँगै बुटवल पुग्नुभएकी उहाँलाई खत्री नर्सिङ होम (मेडिकल हल) इट्टाभट्टीमा उपचारका लागि लगिएको थियो। त्यहाँ गर्भपतन गराउन स्वास्थ्यकर्मीले औषधि चलाएका थिए। त्यसपछि त्यहाँ गर्भपतन हुने सम्भावना नभएपछि पाण्डेलाई बुटवल अस्पताल लाइनमा रहेको जोनल फार्मेसी (क्लिनिक) मा लगिएको थियो। त्यहाँ पनि उहाँको उपचार सम्भव नभएपछि सोही स्थानमा रहेको इन्दुलेखा क्लिनिकमा लगिएको थियो। त्यहाँ पनि उहाँलाई औषधि चलाएर गर्भपतन गराउने प्रयास गरिएको पाइएको छ।

 

पाण्डेको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पताल लगिएको थियो। अस्पतालमा लैजाँदाबित्तिकै पाण्डेको मृत्यु भएको जनाइएको छ। महिलाको अनुभवी तथा वरिष्ठ चिकित्सकको सल्लाहअनुसार सरकारी निकायमा उपचार गर्नुपर्नेमा नर्सिङ होम, क्लिनिक वा फार्मेसीले लापरबाही तरिकाले औषधि चलाएको पाइएको बताइएको छ।

Comments