भैरव मेमोरियल बोर्डिङ स्कुल लगातार ६ वर्ष गाउँपालिकाको टप विद्यालय
(२०७७ देखि २०८२ सम्म १०० प्रतिशत नतिजा कायम, उत्कृष्ट शैक्षिक उपलब्धिसँग विद्यालय अघि बढ्दो)
रिब्दिकोट गाउँपालिका–४ स्थित भैरव मेमोरियल बोर्डिङ स्कुलले लगातार छ वर्षदेखि २०७७ देखि २०८२ सम्म गाउँपालिका भित्रको टप विद्यालयको स्थान कायम राख्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको छ । गाउँपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने कक्षा ८ को पालिकास्तरीय परीक्षामा विद्यालयले निरन्तर १०० प्रतिशत नतिजा कायम राख्दै रिब्दिकोटको मात्र होइन, पाल्पा जिल्लाको समेत गौरव बनेको हो । विद्यालयले उत्कृष्ट नतिजासँगै अनुशासित शिक्षण प्रणाली, दक्ष शिक्षक र विद्यार्थीहरूको निरन्तर परिश्रमका कारण पछिल्ला वर्षहरूमा शैक्षिक क्षेत्रमा उदाहरण प्रस्तुत गरेको छ ।
प्रधानाध्यापक दिलीप रायमाझीका अनुसार विद्यालयको निरन्तर सफलता शिक्षक, विद्यार्थी र व्यवस्थापनबीचको सुदृढ सहकार्यको नतिजा रहेको बताउनुभयो । उहाँले निरन्तर १०० प्रतिशत नतिजा ल्याउनु कुनै संयोग नभई योजनाबद्ध अध्ययन, शिक्षकको प्रतिबद्धता र विद्यार्थीको आत्मविश्वासको प्रतिफल रहेको बताउनुभयो । रायमाझीले विद्यालयमा गुणस्तरीय शिक्षणलाई मुख्य प्राथमिकता दिइएको बताउँदै शिक्षकहरूलाई नियमित तालिम, विद्यार्थीहरूको व्यक्तिगत अनुगमन र सिकाइमैत्री वातावरण निर्माणलाई विद्यालयको मुख्य नीति बनाइएको जानकारी दिनुभयो । उहाँको नेतृत्वमा विद्यालयले व्यवस्थित शैक्षिक वातावरणसहित जिम्मेवार र आत्मनिर्भर विद्यार्थी उत्पादनमा जोड दिँदै आएको बताउनुभयो ।
२०५३ सालमा स्थापना भएको भैरव मेमोरियल बोर्डिङ स्कुल केही समय स्थगित रहे पनि २०६३ सालदेखि पुनः सञ्चालनमा आएपछि निरन्तर प्रगतिमा अघि बढिरहेको छ । विद्यालयले शैक्षिक नतिजासँगै सांस्कृतिक, खेलकुद, कला र सिर्जनात्मक गतिविधिहरूमा पनि समान महत्व दिँदै आएको छ । विद्यार्थीहरूले गाउँपालिका, जिल्ला र प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको प्रतिष्ठा बढाइरहेका छन् । यससँगै विद्यालयले स्थानीय समुदायसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ, जसले विद्यालय र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
विद्यालयको २० वर्षे सफल यात्रामा साथ दिने सबै शिक्षक, विद्यार्थी, अभिभावक र समुदायजनप्रति प्रधानाध्यापक रायमाझीले धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले विद्यालयलाई अझ आधुनिक, सिर्जनात्मक र व्यवहारिक शिक्षाको केन्द्रका रूपमा अघि बढाउने लक्ष्य राखिएको बताउनुभयो । स्थानीय समुदायले पनि विद्यालयको उपलब्धिप्रति गर्व व्यक्त गर्दै, “भैरव मेमोरियल बोर्डिङ स्कुलले रिब्दिकोट गाउँपालिकालाई शैक्षिक क्षेत्रमा अग्रणी बनाएको छ,” भन्ने प्रतिक्रिया दिएका छन् । विद्यालयको निरन्तर सफलता र उत्कृष्ट नतिजाले रिब्दिकोट गाउँपालिकाको सम्पूर्ण शैक्षिक वातावरणमा सकारात्मक ऊर्जा र प्रेरणा थपेको छ ।








































Comments