भुपु सैनिक क्लब तानसेन पाल्पाको आयोजनामा भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता शुरू

पाल्पा — भुपु सैनिक क्लब तानसेन पाल्पाको आयोजनामा भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ । प्रतियोगिता चैत्र २७ र २८ गते पाल्पा जिल्ला ब्याडमिन्टन संघको कर्भडहलमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको शुभारम्भ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले भुपु सैनिकहरू राष्ट्रका गौरव भएको उल्लेख गर्दै खेलकुदले अनुशासन, एकता र स्वस्थ जीवनशैली विकास गर्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले भुपु सैनिकहरूबीच आपसी सम्बन्ध अझ बलियो बनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुनिल बस्यालले भुपु सैनिकहरूको योगदान सधैं सम्माननीय रहेको बताउँदै खेलकुदमार्फत उहाहरूलाई सक्रिय राख्नु महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले समाजमा खेल संस्कृतिको विकास गर्नुका साथै नयाँ पुस्तालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा भारतीय जिल्ला सैनिक बोर्ड चिलाङ्गदीका सेक्रेटरी क्याप्टेन दिनेश थापाले भुपु सैनिकहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न खेलकुद प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले अनुभव आदानप्रदान तथा भाइचारा बढाउने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा पाल्पा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बज्राचार्यले जिल्लामा ब्याडमिन्टन खेलको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी भुपु सैनिक संस्थाका अध्यक्ष आनन्द शारूले भुपु सैनिकहरूबीच एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो । पाल्पा जिल्ला ब्याडमिन्टन संघका वरिष्ठ सल्लाहकार लिला अर्यालले खेलकुदलाई दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै स्वस्थ रहन नियमित अभ्यास अपरिहार्य रहेको बताउनुभयो ।

 

कार्यक्रम भुपु सैनिक क्लब तानसेन पाल्पाका सचिव बेनि राम रानाको सञ्चालन र उपाध्यक्ष टिका बहादुर बुचाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समूहका भुपु सैनिकहरूको उत्साहजनक सहभागिता रहेको छ । सहभागीहरूले प्रतिस्पर्धामा आफ्नो कौशल प्रदर्शन गर्दै खेललाई रोचक बनाइरहेका छन् भने दर्शकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको देखिएको छ । आयोजक समितिका अनुसार प्रतियोगिता निष्पक्ष र मर्यादित ढंगले सञ्चालन भइरहेको छ र विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने योजना रहेको आयोजकले जनाएको छ ।

Comments