भीमसेन टोल विकास संस्थाको आयोजनामा सडक खाना महोत्सव सम्पन्न

पाल्पा – "सडकमै खाउँ, सडकमै रमाउँ" भन्ने नाराका साथ पाल्पाको तानसेन नगरपालिका–६ को आर्थिक सहयोग र भीमसेन टोल विकास संस्थाको आयोजनामा भीमसेन टोलमा भव्य सडक खाना महोत्सव सम्पन्न भएको छ । महोत्सवको उद्घाटन तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख श्रेष्ठले टाेल विकास सस्थाले स्थानीय रूपमा उत्पादन हुने परिकार तथा कला-संस्कृतिको प्रदर्शन गर्दै संरक्षण र प्रवर्द्धन गर्ने प्रयास सराहनीय रहेको उल्लेख गर्नुभयो । साथै, टोल विकास संस्थामा आबद्ध महिलाहरूले साना तथा कुटिर उद्योगबाट उत्पादित वस्तुहरूकाे प्रदर्शनी एवं बजारीकरण गरी आर्थिक सबलीकरणमा टेवा पुर्याउने बताउनुभयो ।

 

तानसेन नगर ऐतिहासिक कला, संस्कृति, परम्परा र रीतिरिवाजले भरिपूर्ण रहेको उल्लेख गर्दै नगरप्रमुख श्रेष्ठले यस्ता कार्यक्रमहरू पुस्तान्तरणका लागि महत्वपूर्ण रहेको औंल्याउनुभयो । उहाँले नगरपालिकाले भविष्यमा टोल विकास संस्थासँग सहकार्य गर्दै ऐतिहासिक सम्पदा तथा सांस्कृतिक पहिचान उजागर गर्ने प्रतिवद्धता जनाउनुभयो । तानसेन नगरपालिका–६ का वडा अध्यक्ष सागर मान महर्जनले पर्यटन प्रवर्द्धनमार्फत नगरको विकास सम्भव रहेको बताउँदै, सडक खाना महोत्सवले त्यसमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवबाट संकलित रकम सरस्वती मन्दिरको जीर्णोद्धारमा खर्च गरिने जानकारी दिँदै, टाेल विकास सस्थासँग सहकार्य गरि सडक खाना महाेत्सवलाईलसफल बनाउन वडा कार्यालयले आवश्यक सहयोग गरेको बताउनुभयो । 

 

कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। भीमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाश गंगोलले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाकी प्रथम उपाध्यक्ष पुतलीदेवी शाक्यले गर्नुभएको थियो । महोत्सवको अवसरमा टोल विकास संस्थाले चित्रकला प्रतियोगिता पनि सम्पन्न गरेको थियो। पाँच विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगितामा पाल्पा आवासीय बोर्डिङ स्कुल प्रथम, देवबाणी मावि द्वितीय, बिजु बोर्डिङ स्कुल तृतीय, जनप्रिय मावि सान्त्वना र पप माध्यमिक विद्यालय पाँचौं स्थान हासिल गर्न सफल भए । विजयी विद्यालयहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरियो । यस महोत्सवले स्थानीय खानाका परिकार र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाले जनाएको छ ।

Comments