बौघागुम्हामा तानसेन नगरपालिकाकाे सार्वजनिक सुनुवाइ
पाल्पा- जिल्लाकाे तानसेन नगरपालिकाले वडा न १३ काे बाैघागुम्हामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको हाे । कार्यक्रम तानसेन नगरपालिकाकाे आयाेजनामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नगरवासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा नगरपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा व्यापक रुपमा चर्चा भयो । कार्यक्रममा देबी प्रसाद भट्टराईले नगरपालिकाबाट प्रदान गरिने सुचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने कुरामा जाेड दिनुभयाे । त्यस्तै स्थानीय प्रेम नाथ घिमिरेले तानसेन वडा न १३ मा अघिल्लाे सरकारले ल्याएकाे एक वडा एक किलाे मिटर बाटाे पिच अलपत्र अवस्था रहेको बताउनुभयो । त्यस्तै नगरपालिकाकाे याेजनाकाे काम गर्दा उपभोक्ता समितिले गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । बजार मुल्य भन्दा नगरपालिकाले दिने स्टमेट कम हुने भएकाले उपभोक्ता समितिहरूले काम गर्नै नसक्ने अवस्थामा रहेको बताउनुभयो । त्यस्तै सार्वजनिक सुनुवाइमा शिक्षक बासुदेब अर्याल,भक्तुजङ्ग थापा,किशाेर भट्टराई,शेषकान्त पाण्डेय,हुम बहादुर माझी,दिनानाथ खनाल,लिला भट्टराई, दिल कुमारी माझी,दिनेश राना लगाएतले ग्रामीण भेगमा कृषि, रैथाने बाली तथा पशुपालन गर्ने कृषकहरूलाई अनुदानकाे व्यवस्था हुनुपर्ने,ग्रामीण भेगमा स्वास्थ्य सेवालाई थप सर्वसुलभ र सुविधा युक्त बनाउनुपर्ने,ग्रामीण भेगका सडकहरू बाह्रै महिना चल्ने बनाउनुपर्ने,शिक्षाको सुधार, सुसासन र पारदर्शिता कायम गर्न ,सिचाइ,विधुत ,खानेपानी लगाएतका बिषयमा केन्द्रीत रहेर सुझाव राख्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ,उपप्रमुख प्रतिक्षा गाहा सिङ्जाली,तानसेन नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत दुर्गा बहादुर थापा,लेखा अधिकृत काेसल राज घिमिरे,सामाजिक विकास अधिकृत भरत आर्चाय,वडाका अध्यक्षहरु, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, पत्रकार समेतको सहभागितामा सार्वजनिक सुनुवाइ गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष लाल श्रेष्ठले सेवाग्राहीका गुनासालाई स्वागत गर्दै नगरपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र नगरपालिकाको सेवालाई प्रभावकारी बनाउने हिसावले अन्य वडामा पनि सार्वजनिक सुनुवाइ गर्ने बताउनुभयो । नगर प्रमुख श्रेष्ठले आफूहरु सकेसम्म नगरपालिकाको स्रोत र साधानको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको बताउनुभयो । उहाँले जनप्रतिनिधी र कर्मचारीहरुलाई गुनासोहरुको सम्बोधन गरि कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रम नगर प्रमुख श्रेष्ठले तानसेन नगरपालिकाले आर्थिक पार्दशिता र नगरपालिकाकाे आन्तरिक आम्दानी वृद्धिलाई बिशेष जाेड दिएर काम गरेको बताउनुभयो । विगतकाे नगर सरकारले ४ कराेड आन्तरिक आम्दानी गरेता पनि नयाँ नेतृत्व नगर सरकारले करिब ८ कराेड आन्तरिक आम्दानी गरेकाे बताउनुभयो । नगरपालिकाले राजस्व संकलनमा जाेड,पाल्पा दरबार संग्रहालयलाई विश्व सम्पदा सुचिमा सुचिकरणका लागि आवश्यक पुर्वाधार निर्माणलाई तिव्रता,सास्कृतिक डबली,बसपार्क निर्माणलाई तिव्रता,वडा न ३ काे हाेलाङ्गदीमा प्रशाेधन केन्द्र सञ्चालन,तानसेन नगरपालिका भित्रका घरहरूकाे अभिलेखिकरण गरिएको बताउनुभयो ।
नगरपालिकाले आगामी नगरपालिकालाई कस्तो बनाउने भन्ने बिषयमा आवधिक याेजना निर्माणकाे तयारीमा रहेको बताउनुभयो । नगरपालिका" घ "वर्गका अपांगता भएका व्यक्तिलाई मासिक ५ सय प्रदान गर्दै आएकाे छ । ग्रामीण लिफ्टिङ्ग खानेपानी याेजनामा २५ प्रतिशत महसुलमा छुट,दुग्ध उत्पादन कृषकलाई प्रती लिटर २ रूपैयाँ अनुदान प्रदान गर्दै आएकाे बताउनुभयो । त्यस्तै नगरपालिका भित्रका छाडा चाैपायाहरूलाई रूरू गाैसेवा आश्रममा व्यवस्थापन गरिएको,शिक्षा,स्वास्थ्य,यातायात,सस्कृतिकाे संरक्षण र पर्यटनमा समेत नगरपालिकाले काम गरिरहेकाे बताउनुभयो । तानसेन नगरपालिकाकाे अधिकाश भुभाग ग्रामीण परिवेश रहेकाले तानसेन नगरपालिकाकाे विकास कृषि,पशुपालन र पर्यटनबाट नै सम्भव रहेकोले नगर सरकारले यी बिषयबस्तुलाई केन्द्रीत गरि याेजना तथा नीति निर्माण गर्ने र आफ्ना गतिविधिलाई अगाडि बढाईरहेकाे बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले नगरपालिकाले धेरै काम गर्ने सोच बनाएपनि आन्तरिक स्रोत कमजोर हुँदा कतिपय योजनाहरु अगाडी बढाउन नसकेको बताउनुभयो । तैपनि संघ र प्रदेश सरकार समक्ष जनमुखी कामका लागि योजना लगेर छोडेको हुनाले आगामी आर्थिक वर्षको बजेटमा ति योजनाहरु समाबेश भएर आएमा नमूना काम हुने बताउनुभयो । उहाँले सेवाप्रवाहलाई गुनासो रहित बनाउने कोशिसमा रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रसासकिय अधिकृत दुर्गा बहादुर थापाले वार्सिक योजना तथा कार्यक्रमको बारेमा अवगत गराउनुभयो । हाल नगरपालिकाका १४ वटा वडामा ६ सय ३५ वटा याेजना रहेको बताउनुभयो । जस्मा ३ सय १० वटा याेजना सम्झाैता भइ काम भइरहेको र १ सय ५५ वटा याेजना सम्पन्न भइसकेको बताउनुभयो । नगरपालिकाकाे हकमा हेर्दा हाल ६३ प्रतिशत याेजना सम्झौता भएका छन । भने करबि ३१ प्रतिशत याेजनाकाे भुक्तानी भइसकेको बताउनुभयो ।
कार्यक्रमकाे सञ्चालन तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चायकाे सञ्चालनमा सम्पन्न भएको थियाे । कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत काेसल राज घिमिरेले उपभोक्ता समितिलाई भुक्तानी गर्दा अपनाउनुपर्ने कानुनी प्रावधानका बारेमा जानकारी गराउनु भएको थियाे ।








































Comments