अत्याधुनिक सेवा सहित तानसेन–२ महेलधारामा ‘सरल फार्मेसी’ सञ्चालनमा

पाल्पा जिल्लाको तानसेन नगरपालिका–२ महेलधारामा अत्याधुनिक स्वास्थ्य सेवा सहित “सरल फार्मेसी” सञ्चालनमा आएको छ । स्वास्थ्य सेवा अझ सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यका साथ सुरु गरिएको यस फार्मेसीले औषधि बिक्रीसँगै विशेषज्ञ डाक्टरमार्फत प्रत्यक्ष उपचार सेवा पनि उपलब्ध गराउने व्यवस्था शुरू गरेको हो  । तानसेन नगर क्षेत्रमा पहिलो पटक विशेषज्ञ चिकित्सकको उपस्थितिमा फार्मेसीबाट नै विभिन्न रोगको उपचार सेवा प्रदान गरिनु यहाँका स्थानीयका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यस सेवाले बिरामीलाई सानो समस्या लिएर टाढा–टाढा अस्पताल धाउनुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वास गरिएको छ । स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ फार्मेसी सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन् ।

 

सरल फार्मेसीमा विभिन्न क्षेत्रका अनुभवी तथा विशेषज्ञ चिकित्सकहरूबाट नियमित स्वास्थ्य परामर्श तथा उपचार सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । बालरोग विशेषज्ञ डा. सैरभ श्रेष्ठ, जो हाल लुम्बिनी मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ, उहाँमार्फत बालबालिकासम्बन्धी विभिन्न स्वास्थ्य समस्याको उपचार गरिनेछ । त्यस्तै छाला तथा यौन रोग विशेषज्ञ डा. सुवास पौडेल, जो पाल्पा अस्पतालमा कार्यरत हुनुहुन्छ, उहाँले छाला र यौन रोगसम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महिला तथा स्त्रीरोग विशेषज्ञ डा. आरती श्रेष्ठले महिलासम्बन्धी स्वास्थ्य समस्या तथा स्त्रीरोगको उपचार सेवा दिनेछन् । यसले महिलाहरूलाई आफ्नै क्षेत्रमै विशेषज्ञ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

 

यसैगरी जिल्ला अस्पतालमा कार्यरत डा. पुजन बज्राचार्यले पनि फार्मेसीमार्फत स्वास्थ्य सेवा दिने व्यवस्था गरिएको छ । इन्टरनल मेडिसिन विशेषज्ञ डा. सौरभ बज्राचार्यले विभिन्न दीर्घरोग तथा आन्तरिक रोगसम्बन्धी उपचार सेवा उपलब्ध गराउनेछन् । साथै जनरल सर्जन तथा युरोलोजी सम्बन्धी परामर्श सेवा पनि यहाँबाट उपलब्ध हुने बताइएको छ । विशेषगरी पाल्पा जिल्लामै पहिलो पटक फार्मेसीबाट युरोलोजी सेवा सुरु गरिएको सञ्चालक अमृत महर्जनले जानकारी दिनुभयो । मस्तिष्क, स्नायु तथा नसासम्बन्धी समस्याबाट पीडित बिरामीका लागि यो सेवा निकै उपयोगी हुने अपेक्षा गरिएको उहाले बताउनुभयो । 

 

स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय नागरिकलाई सहज र भरपर्दो उपचार उपलब्ध गराउने उद्देश्यले सरल फार्मेसी स्थापना गरिएको सञ्चालक महर्जनले बताउनुभयो । यहाँ अत्याधुनिक उपकरण, गुणस्तरीय औषधि र विशेषज्ञ चिकित्सकको परामर्श एकै स्थानबाट उपलब्ध हुने भएकाले बिरामीले छिटो र प्रभावकारी उपचार पाउने विश्वास गरिएको छ । तानसेन क्षेत्रका बासिन्दाका लागि यो फार्मेसी स्वास्थ्य सेवाको नयाँ विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको पनि सञ्चालकले जानकारी दिनुभएको छ । 

Comments