अपाङ्गता भएका बालबालिकालाई वडा नं. ४ द्वारा शैक्षिक सामग्री हस्तान्तरण

"पाल्पा केयर सेन्टरका बालबालिकाहरूलाई विशेष सामग्री वितरण, समावेशी शिक्षाको प्रवर्द्धनमा जोड"

पाल्पा– तानसेन नगरपालिका वडा नम्बर ४ ले पाल्पा केयर सेन्टरमा रहेका सिपि (सेरेब्रल पाल्सी) तथा न्युरोलोजिकल अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक तथा जीवन सीप विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले विशेष प्रकारका शैक्षिक र थेरापीजन्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

वडा कार्यालयको सक्रियतामा सम्पन्न उक्त कार्यक्रम पाल्पा सिभिआरका उपाध्यक्ष मधु दयाल सैजुको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजाली प्रमुख अतिथि रहेकाे थियाे भने वडा अध्यक्ष हेमन्तराज शाक्यकाे विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियाे । यस्तै, तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत भरत आचार्य, वडा सदस्य हरि थापा लगायत अन्य समाजसेवी, अभिभावक, शिक्षक तथा केयर सेन्टरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा अपाङ्गता भएका बालबालिकाहरूको आवश्यकता र सहजतालाई ध्यानमा राखी विशेष स्पेसल चेयर, टेबल, थेरापीमा प्रयोग हुने सामग्री, सिकाइका सहयोगी उपकरणहरू लगायतका सामग्रीहरू हस्तान्तरण गरिएकाे छ । यी सामग्रीहरू बालबालिकाको भौतिक सहजता, सिकाइमा सहजता र दैनिक जीवनको कार्यसम्पादनमा सहयोगी हुने विश्वास लिइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख प्रतीक्षा सिंजालीले अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पुनर्स्थापनामा यस्ता कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने बताउनुभयाे ।  अपाङ्गता भएका बालबालिकाहरू पनि पूर्ण रूपमा समाजको हिस्सा हुन् भन्ने सोचका साथ पालिकाले आगामी दिनमा थप कार्यक्रमहरू अगाडि बढाउने बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष हेमन्तराज शाक्यले वडा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयाे ।  बालबालिकाहरूलाई सक्षमतामा वृद्धि गराउन शैक्षिक र थेरापीजन्य सहयोग अत्यन्तै महत्वपूर्ण हुने भएकोले वडा कार्यालयले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन बताउनुभयो ।

 

कार्यक्रममा पाल्पा केयर सेन्टरका प्रमुख कृष्ण गहतराजले सामग्रीले बालबालिकाको व्यवहारिक सीप, अभिव्यक्ति र सहभागितामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । साथै, पालिकाको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा थप समन्वयका लागि आग्रह गर्नुभयाे । कार्यक्रम समापनसँगै केही सामग्रीको प्रदर्शनसमेत गरिएको थियो जसमा सहभागीहरूले सामग्रीको प्रयोग विधि र प्रभावकारिता बुझ्न सक्नुभयाे । यस कार्यक्रमले स्थानीय सरकार र सामाजिक संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताउनु भएको छ ।

Comments