अनेरास्ववियू (क्रान्तिकारी)को ३६ बुँदे माग, सम्बोधन नभए संघर्षको चेतावनी
पाल्पा -अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस मूल इकाई समितिले क्याम्पस प्रमुखलाई ३६ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले आफ्नो ज्ञापनपत्रमा क्याम्पस प्रशासनसँग विभिन्न सुधारका लागि कदम चाल्ने माग गरेको छ । मागहरू विद्यार्थीहरूको भलाई र क्याम्पसको समग्र विकासमा केन्द्रित छन्।
अनेरास्ववियू (क्रान्तिकारी)ले क्याम्पस ईकाइले ज्ञापनपत्रमा विद्यार्थीलाई क्याम्पसको आधिकारिक लोगो सहितको टाई र टि-सर्टको अनिवार्य ब्यबस्था गरी पोसाकमा एकरूपता गरिनुपर्ने, क्याम्पसमा शुल्क समायोजनको नाममा अपारदर्शी र अव्यवहारिक रूपमा शुल्क वृद्धि गर्ने परिपाटीको अन्त्य गर्दै अनावश्यक शुल्क खारेज गरिनुपर्ने, अनेरास्ववियू (क्रान्तिकारी)को पहलकदमी र संघर्षबाट संचालनमा आएको आन्तरिक परिक्षालाई ब्यबस्थित एवं मर्यादित गरिनुपर्ने, क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले अनिवार्य रूपमा बिश्वबिद्धालयले तोकेको पोसाक र परिचयपत्र लगाउनुपर्ने, संचालित सबै संकायको चौथो बर्षमा विद्यार्थीले आफुले रोजेको वा चाहे अनुसारका विषयहरु पढ्न पाउने विद्यार्थीको अधिकारको सुनिश्चित गरिनुपर्ने, महिला छात्राबास व्यवस्था गरि हाल संचालनमा रहेको पुरुष छात्राबासको भौतिक संरचना थप ब्यवस्थापन गरिनुपर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा उत्कृष्ट नतिजा दिने प्राध्यापकहरुलाइ बिशेष सम्मान गरिनुपर्ने, नेपाल बैंकको एक्सटेन्सन काउन्टरबाट उपलब्ध हुने सेवा सुबिधा क्याम्पसको समय अनुसार ब्यबस्थापन गरिनुपर्ने माग छ ।
त्यस्तै ज्ञापनपत्रमा पुस्तकालयमा पर्याप्त पाठ्यपुस्तकको अभाव भएकोले नेपाली र अङ्ग्रेजी दुबै माध्यमका थप पुस्तकहरु उपलब्ध गरिनुपर्ने, प्रबिधिमैत्री कक्षाकोठाको लागि थप प्रोजेक्टरको अनिवार्य ब्यबस्थापन गरिनुपर्ने, बजारको आवश्यकता, विद्यार्थीको चाहाना र सम्भावनालाई हेरि समय सान्दर्भिक शैक्षिक कार्यक्रम थप्न बिश्वबिद्धालय समक्ष पहल गरिनुपर्ने, बतासेडाँडा स्थित बिज्ञान संकायको लागि चमेनागृहको ब्यबस्था गरि हाल संचालनमा रहेको लहरेपिपलस्थित चमेनागृह थप ब्यवस्थित गरिनुपर्ने, प्रयाप्त खेलकुद सामाग्री सहितको खेलमैदानको ब्यबस्था गरिनुपर्ने, स्नातक र स्नातकोत्तर तहमा सबै संकाय र कार्यक्रमका छात्रवृत्तिको सुनिश्चितता गरिनुपर्ने, स्नातकोत्तर तहमा भर्ना शुल्क दुई किस्तामा बुझाउन पाउने ब्यबस्था गरिनुपर्ने, बार्षिक तथा सेमेस्टर प्रणालीका सबै तहमा आन्तरिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ३ जना प्रत्येक संकायका विद्यार्थीहरु लाई स्वत निशुल्कवृति प्रदान गरिनुपर्ने, ई-लाइब्रेरीको लागि बनाइएको भवनलाई तत्काल प्रयोगमा ल्याई विद्यार्थीलाई ई-लाईब्रेरीको पहुँचसम्म पुराउने, क्याम्पसमा हुने सबैखाने रिक्त पदहरुमा खुला प्रतिस्पर्धा मेरिटोक्रेसीको आधारमा पदपूर्ति गरिनुपर्ने, बिज्ञान संकायका प्रयोगशालाहरु ब्यबस्थित गरि आवश्यक सामाग्रीहरुको उपलब्ध गरिनुपर्ने, विद्युत अवरोधको समस्या हुदा वैकल्पिक ब्यबस्था गरिनुपर्ने, क्याम्पसमा स्वच्छ पिउने पानी, नियमित सरसफाइ, शौचालय सुधार, छात्राहरूलाई सेनिटरी प्याड तथा प्राथमिक उपचार कक्षको ब्यबस्थापन गरिनुपर्ने, त्रि.वि.को नियम बिपरित आफ्नाे काेर्स कन्टेन्ड पुरा नगरी अन्य क्याम्पसमा गएर अध्यापन गराउने परिपाटी तत्काल अन्त्य गरिनुपर्ने,क्याम्पस आउदा वा जादा हुने यातायातको असुबिधालाइ अन्त्य गर्न विद्यार्थीलाई क्याम्पस बसको ब्यबस्थापन गरिनुपर्ने लगायतका महत्त्वपूर्ण मागहरू समाबेश गरिएको छ । मागहरू सुधारका लागि क्याम्पस प्रशासनसँग छलफल गर्ने र सम्भावित मागहरू यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता पनि क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस प्रशासनले मागहरूको सम्बोधन नगरेमा अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस मूल इकाई समिति संघर्षको मार्ग अपनाउन बाध्य हुने त्रिभुवन बहुमुखी क्याम्पस अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष मिलन घर्ती मगरले जानकारी दिनुभयाे । संगठनले आफ्नो मागहरूको पक्षमा उठान गर्दै क्याम्पसको शिक्षाशास्त्र र प्रशासनिक संरचनामा सुधारको आवश्यकता व्यक्त गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पसले आफ्नो संघर्ष र आन्दोलनलाई क्याम्पसका विद्यार्थीहरूको हक र अधिकारका लागि अडिग राख्ने प्रतिबद्धता जनाएका छन् ।








































Comments