अहिलेको अवस्थामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श आवश्यक छ । ; रायमाझी

पाल्पा-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पूर्व अध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख दुर्गा रायमाझीले अहिलेको अवस्थामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श आवश्यक रहेको बताएका छन । तानसेनमा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रायमाझीले उक्त कुरा बताउनुभएको हाे ।  

 

उहाले अहिलेको अवस्थामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श आवश्यक रहेको उल्लेख गर्दै प्रतिष्ठान लुम्बिनी प्रदेशले प्रशिक्षण अयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले संस्थालाई विकाससँगै कलाकारहरुको नेतृत्व क्षमताको विकास गर्न प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए । गायक रायमाझीले लोक, गीत, संगीत पहिचान भएको बताए । उनले विकासका जति सुकै कुरा गरे पनि पहिचान भएन भने त्यसको अर्थ नरहने धारणा व्यक्त गरे । गायक रायमाझीले उदाहरण दिर्दै भने,‘नेपाली र अमेरिकन व्यक्तिको रगत ल्याव टेस्ट गर्दा  कस्तो छ, कुन गू्रप हो भन्न सकिन्छ तर कुन देशको व्यक्ति हो भन्न सकिदैन, ढाका टोपी, दौरासुरुवाल लगाएको  व्यक्ति र टाइ सुट लगाएको व्यक्तिलाई एकै ठाउँमा राख्दा कुन देशको हो भन्न सकिन्छ ,त्यो उसको पहिचानले चिनाउन्छ ।’ गीत, संगीत पनि त्यहि पहिचान भएको उनले उल्लेख गरे । गायक रायमाझीले आर्थिक, राजनीतिक वहसहरु हुने गरे पनि संस्कृतिको वहस कहिल्यै नहुने गरेको बताए । उनले सरकारी तवरबाटै संस्कृतिको वहस हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

 

कार्यक्रममा विशिष्टि अतिथि रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षणमा आफुहरुले विशेष ध्यान दिएको बताए । उनीहरुले कला, संस्कृतिको सरंक्षण गर्ने दायित्व स्थानीय सरकारको समेत रहेकाले आफुहरुले त्यसतर्फ विशेष ध्यान दिएको उल्लेख गरे । प्रतिष्ठानका केन्द्रीय सदस्य दिल्लीनारायण पाण्डेले पाल्पा लोकसंस्कृतिको खानी रहेको भन्दै त्यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको ध्यान जान जरुरी रहेको बताए । उनले प्रतिष्ठानमा जिल्लादेखि प्रदेश र केन्द्रसम्म नै पाल्पाली कलाकारहरु नेतृत्व तहमा रहेको भन्दै आगामी दिनमा अझ पाल्पाको कला संस्कृतिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउनुपर्नेमा जोड दिए ।

 

तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जन, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, माथागढी गाउँपालिका–३ का वडा अध्यक्ष तेज घर्ती, प्रतिष्ठानका प्रेस सल्लाहकार रामचन्द्र रायमाझीले प्रतिष्ठानले संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्शका विषयमा प्रशिक्षण दिएर प्रदेशमै नमूना काम गरेको उल्लेख गरे । कार्यक्रम संयोजक तथा प्रतिष्ठान प्रदेशका महिला उपाध्यक्ष चेतना थापाले प्रतिष्ठानलाई जवाफदेही, पारदर्शीता, र प्रतिष्ठानमा आवद्ध कलाकारहरुको नेतृत्व, व्यक्तित्व विकासका लागि कार्यक्रम आयोजना गरिएको बताईन् । प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु  मगरको अध्यक्षता, प्रतिष्ठान पाल्पा शाखाका अध्यक्ष कमल भट्टराईको स्वागत, प्रतिष्ठान प्रदेशका वरिष्ठ उपाध्यक्ष दामोदर बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतिष्ठानले प्रदेशका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरी अगाडि बढेको छ । प्रशिक्षणको पहिलो कार्यक्रम पाल्पामा गरिएको हो । सोही अवसरमा प्रतिष्ठानले नयाँ वर्ष २०८१ को भित्तेपात्रो समेत विमोचन गरेको छ ।

 

नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रममा संस्थागत सुशासन र मनोपरामर्शदाता ऋषि न्यौपानेले नेतृत्व विकास र मनोपरामर्शका बारेमा प्रशिक्षण दिएका थिए ।

Comments