विश्व मधुमेह दिवसमा पाल्पा विपनाद्वारा निःशुल्क सुगर परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

पाल्पा–विश्व मधुमेह दिवस (World Diabetes Day) को अवसरमा लायन्स क्लब अफ पाल्पा विपना सितलपाटीको आयोजनामा मङ्गलबार तानसेन–६ बसपार्कमा मजदुर तथा यात्रुहरूलाई लक्षित गरी निःशुल्क मधुमेह परीक्षण तथा सचेतना अभियान सम्पन्न भएको छ।

समुदायमा तीव्र गतिमा फैलिइरहेको मधुमेह रोगका जोखिम, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजित गरिएको क्लबले जनाएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। मधुमेहलाई ‘साइलेन्ट किलर’ को रूपमा चिनिँदै आएको अवस्थालाई दृष्टिगत गर्दै जनसाधारणलाई सचेत र सुरक्षित बनाउने उद्देश्यले अभियान प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।

 

कार्यक्रमअन्तर्गत १८८ जनाको सुगर परीक्षण गरिएको छ। परीक्षणपछि सहभागीहरूलाई नतिजाअनुसार स्वास्थ्य सल्लाह, खानपान व्यवस्थापन, व्यायाम तथा जीवनशैली सुधारका उपायहरूबारे जानकारी गराइएको थियो। साथै, युनाइटेड मिशन अस्पतालले तयार पारेको मधुमेह सम्बन्धी विस्तृत जानकारी समेटिएको पर्चा (leaflet) घर–घरमा वितरण गरिएको छ, जसमा मधुमेहका कारण, लक्षण, जोखिम समूह, बच्ने उपाय तथा उपचारसँग सम्बन्धित महत्वपूर्ण सामग्री समावेश रहेको लायन्स क्लब अफ पाल्पा विपना सितलपाटीका अध्यक्ष रूक्मागत शर्माले बताउनुभयो। कार्यक्रमले जोखिम समूहका व्यक्तिलाई पहिचान गरी समयमै उपचार तथा निगरानीमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको पनि उहाँले जानकारी दिनुभयो।

 

कार्यक्रमका प्रमुख अतिथि एरिया चिफ गंगा बहादुर खत्रीले मधुमेह विश्वभर तीव्र रूपमा फैलिरहेको गम्भीर स्वास्थ्य चुनौती भएको उल्लेख गर्दै समयमै परीक्षण तथा सचेतनाले धेरै मानिसलाई जोखिमबाट बचाउन सकिने धारणा राख्नुभयो। उहाँले समुदायस्तरमै यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन हुनु प्रशंसनीय रहेको बताउनुभयो। मधुमेह नियन्त्रणका लागि जीवनशैली सुधार, नियमित व्यायाम, सन्तुलित आहार तथा मानसिक तनाव व्यवस्थापन अत्यावश्यक रहेको उहाँको भनाइ थियो। मधुमेह ‘साइलेन्ट किलर’ भएकाले लक्षण देखिएपछि होइन, नियमित परीक्षण गरेर रोग पहिचान गर्नु प्रभावकारी उपाय भएको उल्लेख गर्दै उहाँले निरन्तरता आवश्यक रहेको बताउनुभयो। स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायबीच समन्वय बढे मधुमेह नियन्त्रण अभियान सफल हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो।

 

कार्यक्रममा ए वान टेलिभिजनका अध्यक्ष तथा प्रबन्धक सन्तोष बस्याल, वडा सचिव विशाल ओली, लायन्स क्लब अफ रानी महलका पूर्व अध्यक्ष कोसिस भण्डारीलगायतको उपस्थिति रहेको थियो। युनाइटेड मिशन अस्पतालकी निर्देशक डाक्टर रचेल कार्केले मधुमेह नियन्त्रणका लागि समयमै परीक्षण तथा नियमित निगरानी अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम समुदायमै पुगेर प्रभावकारी हुने धारणा राख्नुभयो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का डोलराज न्यौपाने, श्रीनगर यातायात प्रा.लि.का भविन्द्र गौतम तथा संगम मेडिकल हलका ल्याब प्राविधिकहरूको समेत विशेष सराहना गरिएको थियो।

 

लायन्स क्लब अफ पाल्पा विपनाले आगामी दिनमा पनि स्वास्थ्य–सम्बन्धी जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। मधुमेह रोकथामका लागि नियमित व्यायाम, सन्तुलित आहार, तौल नियन्त्रण, नियमित स्वास्थ्य परीक्षण तथा धुम्रपान–मद्यपान त्याग्नु आवश्यक रहेको भन्दै आयोजकहरूले सबैलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभएको छ । 

Comments