युथ फर एक्शनद्वारा बुटवल–१५ मा विद्यार्थीलाई ट्र्याक सुट तथा शैक्षिक सामग्री वितरण
बुटवल- बुटवल उपमहानगरपालिकामा क्रियाशील सामाजिक संस्था युथ फर एक्शनले बुटवल उपमहानगरपालिका वडा नं. १५ मा अवस्थितदुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्र्याक सुट तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि ट्र्याक सुट सेटसँगै कापी लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
सोही वडाबाट स्थापित संस्थाले बिहीबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १५ का वडा अध्यक्ष शिव राना को प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष प्रयास आचार्य को अध्यक्षतामा सामग्री वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव रानाले सामाजिक संस्थाहरुले समुदायको आवश्यकता पहिचान गरी शिक्षा क्षेत्रमा पुर्याइरहेको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले विद्यार्थीको मनोबल वृद्धि गर्न यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै युवाहरुलाई सामाजिक उत्तरदायित्वप्रति अझ सक्रिय बन्न आग्रह गर्नुभयो ।
नारायण घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिपिन्द्र पाण्डेको स्वागत मन्तव्य रहेको थियो भने विद्यालयकी प्रधानाध्यापक कल्पना बेल्बासेले विद्यालयको आवश्यकता महसुस गरी सहयोग गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो । ट्र्याक सुट तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा ग्लोबल एजुकेसन कन्सल्टेन्सी, श्री स्वामिनारायण संस्था नेपाल तथा हब इन्टरनेसनल एजुकेसन को विशेष सहयोग रहेको संस्थाका सदस्य अभिषेक पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रयास आचार्यले वास्तविक आवश्यकता रहेको विद्यालय छनोट गरी सहयोग गर्न पाउँदा संस्थालाई आत्मसन्तुष्टि मिलेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्दै विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयकी प्रधानाध्यापक बेल्बासेले संस्थाको सहयोगले विद्यार्थीमा उत्साह थपिएको बताउँदै सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तिप्रति धन्यवाद व्यक्त गर्नुभयो । क्लबले केही दिन अगाडी पाणिनी गाउँपालिकाको वडा नं. ४ मा अवस्थित श्री विद्या विकास आधारभुत विद्यालयमा पनि सोही कार्यक्रम गरेको थियो ।









































Comments