श्रीनगर यातायात तथा सेवा कम्पनी प्रा.लीले आधुनिक सुविधासहित “नमस्ते तानसेन” बस सेवा शुभारम्भ
पाल्पा जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको तानसेनबाट संघीय राजधानी काठमाडौंसम्म “नमस्ते तानसेन” नामक अत्याधुनिक रात्रिबस सेवा सञ्चालनमा ल्याइएको छ । श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.ले शुक्रबार तानसेनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै नयाँ बस सेवाबारे जानकारी गराएको हो । कम्पनीले यात्रुको सुरक्षा, सुविधा र सम्मानलाई केन्द्रमा राखेर सेवा सञ्चालन गरिएको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नग प्रमुख सन्तोष लाल श्रेष्ठले पाल्पाबाट काठमाडौंसम्म आधुनिक र व्यवस्थित यातायात सेवा सञ्चालन हुनु जिल्लाकै लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले समयअनुसार प्रविधिमैत्री तथा यात्रुमैत्री सार्वजनिक यातायात सेवा आवश्यक रहेको उल्लेख गर्दै “नमस्ते तानसेन” बस सेवाले पाल्पाको पर्यटन, व्यापार र शिक्षासँगै आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले पाल्पाको पहिचान बोकेको “नमस्ते तानसेन” नामले जिल्लाको आत्मीयता र संस्कृतिलाई राष्ट्रियस्तरमा परिचित गराउने धारणा राख्नुभयो । उहाँले सुरक्षित यात्रा नागरिकको अधिकार भएकाले यातायात व्यवसायीले यात्रुको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँदै श्रीनगर यातायात सेवा कम्पनीले सुरु गरेको सेवा अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा कम्पनीका अध्यक्ष डिल बहादुर ढुङ्गानाले यात्रुको माग र आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक सुविधासहितको सुपर डिलक्स रात्रिबस सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले दुईवटा बस खरिद गर्न प्रति बस एक करोड तीन लाख ७० हजार रुपैयाँ लगानी गरेको छ ।
अध्यक्ष ढुङ्गानाले विगतदेखि नै पाल्पा तथा छिमेकी जिल्लाका ग्रामीण क्षेत्रमा जीप सेवा सञ्चालन गर्दै आएको स्मरण गर्दै अहिले समयको आवश्यकता अनुसार प्रविधियुक्त सेवा विस्तार गरिएको बताउनुभयो । उहाँले अब यात्रुलाई घरदैलो सेवा, अनलाइन टिकट बुकिङ, इजी टिकट सेवा तथा सहुलियत दरमा यात्रा सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो । “संस्कार र सेवा नै श्रीनगरको पहिचान” भन्ने मूल नारासहित सञ्चालनमा ल्याइएको “नमस्ते तानसेन” बस सेवामा यात्रुको आराम र सुरक्षालाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । बसमा २र२ आधुनिक सोफा सिट, वातावरण अनुकूलित एसी सेवा, निःशुल्क इन्टरनेट, मोबाइल चार्जिङ सुविधा, सीसीटीभी क्यामेरा, एलईडी डिस्प्लेमा संगीत तथा चलचित्र मनोरञ्जनको व्यवस्था गरिएको छ । साथै आठ जनासम्म क्षमताको स्लीपर बेड, पिउनेपानी तथा सिस्टम इन्टरलक जस्ता सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
बस तानसेन र काठमाडौं दुवैतर्फबाट दैनिक बेलुका खाना खाइसकेपछि साँझ ७स्३० बजे बस छुट्नेछ । नेपाल सरकारले निर्धारण गरेअनुसार यात्रुभाडा एक हजार ६ सय ५० रुपैयाँ कायम गरिएको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले यात्रुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर अनुभवी चालक तथा सहचालकको व्यवस्था गरिएको जानकारी दिएका थिए । सवारी साधनको नियमित फिटनेस परीक्षण, गति नियन्त्रण, जोखिमयुक्त सडकमा निगरानी तथा समयपालनलाई कडाइका साथ लागू गरिने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ । श्रीनगर यातायात सेवा कम्पनीले सार्वजनिक यातायात क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउँदै पहिलोपटक ईभी सेवा सञ्चालनतर्फ समेत अग्रसर भएको जनाएको छ । कम्पनीका अनुसार आगामी दिनमा यात्रुको आवश्यकता र समयको मागअनुसार थप प्रविधिमैत्री सेवा विस्तार गरिने जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल राज तिमिल्सिना, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कम्पनी सचिव भविन्द गौतमले गर्नुभएको थियो ।









































Comments