पाल्पामा ‘प्रथम बर्तुङ्ग खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८३’ सम्पन्न

पाल्पाको बर्तुङ्ग क्षेत्रमा स्थानीय रैथाने खानाको प्रवर्धन, संरक्षण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित ‘प्रथम बर्तुङ्ग खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८३’ सम्पन्न भएको छ । स्थानीय परिकार, संस्कृति र परम्परालाई एकै थलोमा प्रस्तुत गरिएको महोत्सवले स्थानीयवासी तथा आगन्तुकहरूको उल्लेखनीय आकर्षण बटुलेको आयोजकले जनाएका छन । महोत्सव मूल आयोजक समितिका अध्यक्ष भूमिकला बुढाथोकीले अपेक्षाभन्दा राम्रो सहभागिता र प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया पायौं । स्थानीय रैथाने खानाको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नै संस्कृतिसँग जोड्ने उद्देश्य पूरा भएको महसुस गरेका छौं,”उहाले बताउनुभयाे ।  महोत्सवमा विभिन्न जातजाति तथा समुदायका लोपोन्मुख अवस्थामा पुगेका परिकारहरू प्रदर्शनका साथै बिक्रीका लागि राखिएका थिए । बटुक, चुकाउनी, पकौडा, सेलरोटी, योमरी लगायतका परम्परागत खानाले आगन्तुकहरूको ध्यान आकर्षित गरेका थिए । स्थानीय सुर्दशन कोइरालाले यस्ता कार्यक्रमले हराउँदै गएका खानाका परिकारलाई पुनर्जीवन दिन सहयोग पुग्ने बताउनुभयाे । उहाँले भन्नुभयो, “हाम्रा पुराना परिकार अहिले विस्तारै हराउँदै गएका छन् । यस्ता महोत्सवले ती परिकारलाई पुनः चिनाउने अवसर दिएको छ।”

 

महोत्सवमा विशेष आकर्षणको रूपमा पाल्पाको लोकप्रिय रैथाने परिकार ‘बटुक’ लाई प्राथमिकताका साथ प्रवर्धन गरिएको थियो । तानसेन वडा न ६ कि वडा सदस्य रेखा विष्टले बटुक पाल्पाको पहिचानसँग जोडिएको परिकार भएकाले यसको प्रचार आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बटुक पाल्पाको मौलिक स्वाद हो,यसको महत्व नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रम आवश्यक छन् । आगन्तुकहरूलाई आकर्षित गर्न महोत्सवमा बटुक बनाउने प्रत्यक्ष विधि समेत प्रस्तुत गरिएको थियो । सहभागीहरूले परम्परागत शैलीमा बटुक तयार पार्ने तरिका नजिकबाट अवलोकन गर्नुका साथै स्वाद लिन पाएका थिए । यसले स्थानीय खानाप्रतिको चासो अझ बढाएको आयोजकको भनाइ छ ।

 

महोत्सवमा १५ भन्दा बढी खानाका स्टलहरू राखिएका थिए । ती स्टलहरूमा स्थानीय उत्पादन र परिकारहरू प्रदर्शन तथा बिक्री गरिएको थियो । एउटै स्थानमा विविध स्थानीय स्वादहरूको अनुभव लिन पाउँदा आगन्तुकहरू उत्साहित देखिनुहुनि थियो  । खाना महोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । स्थानीय कलाकारहरूले लोकगीत तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कला, संस्कृति र परम्पराको झल्को दिने प्रस्तुतिहरूले थप रौनकता थपेको थियो । स्थानीय उत्पादन, पर्यटन तथा संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजक तथा स्थानीयवासीले व्यक्त गर्नुभएकाे छ ।

Comments