शत्रुता बिहिन मित्रवत प्रतिस्पर्धाबाट निर्वाचनतर्फ जानुपर्छ – कृष्ण पहारी

पाल्पा-जेन्जी र सरकारबीच सहमति भइसकेको र अब मुलुक निर्वाचन प्रक्रियातर्फ जानु अनिवार्य भएको मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहारीले बताउनुभयो ।उहाँले मानव अधिकार तथा शान्ति समाज, पाल्पा शाखाको आतिथ्यमा आयोजित बैठकको उद्घाटन सत्रमा उक्त कुरा व्यक्त गर्नुभएको हो । उहाँले वर्तमान अवस्था निर्दलीय व्यवस्थातर्फ नभई स्पष्ट रूपमा दलिय प्रणालीमा आधारित रहेको उल्लेख गर्नुभयो । दलिय प्रणालीमा दलका नेताहरूको प्रधानता रहने भएकाले लोकतान्त्रिक अभ्यासको मूल आधार निर्वाचन नै भएको उहाँले स्पष्ट गर्नुभयो । आन्दोलनपछिको राजनीतिक अवस्थालाई अन्य विकल्पतर्फ मोड्ने प्रयास लोकतन्त्रका लागि उपयुक्त नभएको उहाँको धारणा थियो ।

 

उहाँका अनुसार आन्दोलनमा सहभागी नयाँ पुस्ता (जेन्जी) अहिले विभिन्न राजनीतिक दलभित्र प्रवेश गरिसकेका छन् । यसले दलिय लोकतन्त्रलाई अझ संस्थागत बनाउने संकेत गरेको उहाँले बताउनुभयो । अब राजनीतिक अन्योल लम्ब्याउनुको कुनै अर्थ नरहेको भन्दै उहाँले समयमै निर्वाचन गरी जनताको प्रतिनिधि चयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । राजनीतिक दलहरूबीच देखिएको अविश्वास र टकरावले मुलुकलाई अस्थिरतर्फ धकेल्ने खतरा रहेको उल्लेख गर्दै उहाँले संवाद, सहकार्य र प्रतिस्पर्धाबाटै समाधान खोज्नुपर्ने बताउनुभयो । 

मानव अधिकार तथा शान्ति समाजले पुराना र नयाँ सबै राजनीतिक दललाई एउटै स्थानमा राखेर निर्वाचन प्रणालीमार्फत शत्रुताबिहीन, मित्रवत प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने आवश्यकतामा जोड दिएको उहाँले बताउनुभयो । सबै राजनीतिक शक्तिलाई निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता भएको उहाँको भनाइ थियो । निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनबाटै मुलुकमा शान्ति, स्थायित्व र मानव अधिकारको संरक्षण सम्भव हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लोकतान्त्रिक मूल्य र जनताको सार्वभौम अधिकार स्थापित गर्न निर्वाचन नै अन्तिम र प्रभावकारी माध्यम भएको उहाँले जोड दिनुभयो ।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टकनाथ खनालले मानव अधिकार र शान्तिको संस्कृति विकास गर्न समन्वय र साझेदारी अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले यस किसिमका कार्यक्रमहरूले नागरिक समाज, स्थानीय सरकार र सरोकारवालाबीच अन्तरक्रिया र समझदारी मजबुत बनाउने उल्लेख गर्नुभयो । साथै सामाजिक न्याय, समानता र दिगो विकासका लागि सबै तहका साझेदारहरूले मिलेर काम गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । मानव अधिकारको प्रत्याभूति, शान्ति प्रक्रिया र सामाजिक सद्भाव कायम गराउन स्थानीय तह र संघीय सरकारबीच मिलेर काम गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

 

नेपाली कांग्रेस, पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले अहिलेको निर्वाचन आर्थिक मितव्ययतासहित हुनुपर्ने बताउनुभयो । उहाँले अहिलकाे निर्वाचन पैसा र पदको आधारमा हुने हो भने भोलि फेरि भ्रष्ट समाज निर्माण हुने अवस्था सिर्जना हुने उल्लेख गर्नुभयो । त्यसैले निर्वाचन स्वच्छ, पारदर्शी र मितव्ययी हुनुपर्ने उहाँको धारणा थियो । श्रेष्ठले अधिकारको कुरा मात्र नभई जिम्मेवारी र नैतिकताको पालना गर्नु आवश्यक रहेको पनि बताउनुभयो । लोकतन्त्रलाई बलियो बनाउन सचेत नागरिक, इमानदार नेतृत्व र आर्थिक अनुशासनसहितको निर्वाचन अपरिहार्य रहेको उहाँले जोड दिनुभयो। आर्थिक मितव्ययतासहितको निर्वाचनले जनताको विश्वास कायम राख्न र सुशासन स्थापना गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो ।

 

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका नेता मधुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी, पाल्पा जिल्लाका संयोजक सुमन, पाल्पा जिल्लाका न्यायधीश हरि प्रसाद शर्मा उपाध्याय, संस्थाका निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापति होम कान्त चौलागाई, मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोवन्द खनाल, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई, अनुशासन समितिका संयोजक, मूल तयारी समितिका संयोजक कृष्ण रावल, संस्थाका संस्थापक सदस्य कृष्ण कडेल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सिना, कार्यक्रम मूल आयोजक समितिका संयोजक अरुण ज्ञवाली लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले गर्नुभयो । बैठकमा ३६ जिल्लाबाट पदाधिकारीहरूको सहभागीता रहेको थियो ।

Comments