रक्तदान जीवनदान : पालुङमैनादीमा सम्पन्न बृहत् रक्तदान कार्यक्रम
पाल्पा, रिब्दीकोट – “रक्तदान जीवनदान” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पालुङमैनादी उपशाखा रिब्दीकोट–७ को आयोजनामा र रिब्दीकोट गाउँपालिकाको समन्वयमा पालुङमैनादी आयुर्वेद औषधालय, बतासेमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय तहमा रक्तदानको महत्वबारे जनचेतना जगाउने र रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय युवादेखि विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम मार्फत जम्मा २५ पोइन्ट रगत संकलन गरिएको र संकलित रगतलाई नेपाल रेडक्रस सोसाइटी तानसेन, पाल्पा शाखालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको आयोजक समितिले जनाएको छ । संकलित रगत भविष्यमा आकस्मिक अवस्थाका बिरामीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संकलन गरिएको हो ।
कार्यक्रममा बोल्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले रक्तदानलाई मानवतामूलक तथा जीवनदायी कार्यको रूपमा व्याख्या गर्दै रक्तदाताहरूप्रति विशेष आभार प्रकट गर्नुभयो। उहाँले रक्तदान एक उच्चतम सामाजिक सेवा रहेको बताउदै यस योगदानले भोलि कसैको जीवन बचाउन सक्ने बताउनुभयो । रक्तको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्नेसामूहिक प्रयास नै यस कार्यक्रमको मुख्य उद्देश्य हो । अध्यक्ष कार्कीले रगतको आपूर्ति र आवश्यकता बीच सन्तुलन कायम गर्न स्थानिय स्तरमै नियमित रक्तदान कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले आगामी दिनमा यस्ता जनहितका कार्यक्रमहरूलाई निरन्तरता दिने र स्वास्थ्य सेवाको पहुँच अझ सबल बनाउने प्रतिबद्धता लिएको बताउनुभयो । उहाँले रक्तदान गर्ने सबै स्वयंसेवकहरूलाई “जीवनदाता” को उपाधि दिँदै हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
यस अवसरमा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय युवा, शिक्षक, विद्यार्थी तथा महिला समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितहरूले रक्तदानको महत्वबारे आफ्नो धारणा व्यक्त गर्दै रक्तदानले मानवीय सम्बन्धलाई अझ गहिरो बनाउने उल्लेख गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी पाल्पाका अध्यक्ष बाबुराम कार्कीले रक्तदान कार्यलाई निरन्तरता दिन समुदायको सहकार्य अत्यावश्यक रहेको बताउनुभयो । पाल्पा क्षेत्रमा पछिल्ला वर्षहरूमा रगतको माग उच्च रहेकाले स्थानीय तहबाट यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको उहाले बताउनुभयो ।
रिब्दीकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीचको सहकार्यमा सम्पन्न यो रक्तदान कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश दिएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सन्तुलित विकासका लागि यसलाई एक नमूना कार्यक्रमको रूपमा अगाडि बढाउने योजना समेत गरेको जनाएको छ । रिब्दीकोट–७ बतासेमा सम्पन्न बृहत् रक्तदान कार्यक्रमले “रक्तदान जीवनदान” भन्ने नारालाई व्यवहारमा उतार्दै, समुदायमा सहानुभूति, सहयोग र सेवा भाव फैलाउने कार्य गरेको छ ।








































Comments