पाल्पा प्यारागन इङ्लिश बोर्डिङ स्कूलद्वारा सांस्कृतिक तथा खाना महोत्सव सम्पन्न
तानसेन, पाल्पा— पाल्पा प्यारागन इङ्लिश बोर्डिङ स्कूल, तानसेनले शुक्रबार अतिरिक्त गतिविधि कार्यक्रमअन्तर्गत सांस्कृतिक तथा खाना महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई नेपाली कला–संस्कृति, उद्यमशीलता र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालयले खाना महोत्सवको आयोजना गरेको हो ।
महोत्सवका क्रममा विद्यार्थीहरूले आफैंले रकम संकलन गरी, सोही रकमबाट बजारमै गएर आवश्यक कच्चा पदार्थ खरिद गरे र विभिन्न परिकार तयार पारेर मूल्य तोकेर स्टलमार्फत बिक्री गरेका थिए । यस गतिविधिबाट विद्यार्थीहरूले लगानी, उत्पादन, मूल्य निर्धारण र बजार व्यवस्थापन जस्ता उद्यमशील सीपहरूको व्यवहारिक अनुभव प्राप्त गरेको प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए ।
कक्षा ४ भन्दा माथिका विद्यार्थीहरूले विभिन्न समूह बनाएर पाँचवटा खानाका स्टल सञ्चालन गरेका थिए, जहाँ १० भन्दा बढी परिकार प्रदर्शन तथा बिक्री गरिएका थिए । महोत्सवमा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहँदा कार्यक्रम झनै आकर्षक र सफल बनेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








































Comments