लायन्स डिष्टिक्ट ३२५ पि को दोस्रो क्याबिनेट बैठक तानसेनमा भव्यतापूर्वक सम्पन्न

तानसेन (पाल्पा) — लायन्स क्लब इन्टरनेशनल, डिष्टिक्ट ३२५ पि, नेपालको दोस्रो क्याबिनेट बैठक कार्तिक २१ र २२ गते पाल्पाको ऐतिहासिक तथा पर्यटन सहर तानसेनमा भव्य रुपमा सम्पन्न भएको छ। सेवा, पर्यटन प्रवर्द्धन र नेतृत्व विकासका मूल उद्देश्यसहित सम्पन्न उक्त बैठकले लायन्स आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

 

बैठकको अध्यक्षता डिष्टिक्ट गर्भनर लायन बालाराम भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा लायन्स इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतान प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभयो। प्रमुख अतिथि खेतानले नेपालका लायन्स सदस्यहरूले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र आपत्कालीन सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै “लायन्सको शक्ति समुदायमा परिवर्तन ल्याउने प्रेरणा हो” भन्ने विचार व्यक्त गर्नुभयो।

 

त्यसैगरी, लुम्बिनी प्रदेशका माननीय स्वास्थ्य मन्त्री खेम बहादुर सारु विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। उहाँले लायन्स संगठनले राज्यको सामाजिक र स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आएको योगदान उल्लेखनीय रहेको भन्दै सरकार र नागरिक समाजबीच सहकार्यले मात्र स्थायी विकास सम्भव हुने बताउनुभयो । कार्यक्रममा निवर्तमान गर्भनर तथा पूर्व गर्भनरहरू पनि सहभागी हुनुहुँदै संगठनको अनुभव र नेतृत्वलाई अझ सुदृढ बनाउन योगदान दिनुभएको थियो।

 

बैठकका मुख्य वक्ता उत्प्रेरक तथा नेतृत्व विकासका सहजकर्ता नर बहादुर कार्कीले सदस्यहरूबीच सकारात्मक सोच, सामूहिक प्रयास र दूरदृष्टियुक्त नेतृत्वका गुणहरू विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका क्रममा समाजसेवा र मानव कल्याणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरू—बुद्धि प्रसाद शर्मा, माननीय खेम बहादुर सारु र धर्मराज श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानपत्र, दोसल्ला र स्मृतिचिन्हसहित डिष्टिक्टका शीर्ष नेतृत्वले सम्मान गर्नुभएको थियो । कार्यक्रमको आयोजना तथा आतिथ्य व्यवस्थापन लायन्स डिष्टिक्ट ३२५ पि एरिया २ ले गरेको थियो। एरिया चिफ लायन गंगा बहादुर खत्रीले पाल्पामा रहेका पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्रहरूको परिचय खुल्ने तस्वीरहरू किटका रूपमा सहभागी सबैलाई वितरण गरिएको जानकारी दिनुभयो। उहाँले यस कदमले पाल्पाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

 

दुई दिनसम्म चलेको कार्यक्रममा कार्तिक २१ गते होटल ह्वाइटलेकमा औपचारिक बैठक तथा अभिमुखीकरण सत्र सञ्चालन गरिएको थियो भने कार्तिक २२ गते श्रीनगर सांस्कृतिक डबलीमा मुख्य कार्यक्रम सम्पन्न गरिएको थियो।

बैठकमा डिष्टिक्टका पदाधिकारी, क्लब अध्यक्ष तथा सचिवहरू, पूर्व गर्भनरहरू, युवा लायन्सहरू र देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू गरी ७०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो । समारोहमा मानवसेवामा उत्कृष्ट काम गर्ने क्लब, क्लब सदस्य र लायन्स सदस्यहरूलाई सम्मान तथा उत्प्रेरणा प्रदान गरिएको थियो। सहभागीहरूले यस कार्यक्रमले सेवा, नेतृत्व र पर्यटन प्रवर्द्धनका माध्यमबाट पाल्पालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिएको बताएका छन् । डिष्टिक्ट गर्भनर लायन बालाराम भट्टराईले कार्यक्रम समापन गर्दै “लायन्सको सेवा नै हाम्रो पहिचान हो” भन्दै सबै सदस्यलाई अझ समर्पित भावनासाथ समुदायमा योगदान दिन आग्रह गर्नुभयो।

Comments