किरियापुत्रीलाई नेपाली काँग्रेस पाल्पाबाट आर्थिक सहयोग
पाल्पा — नेपाली काँग्रेस पाल्पाले तानसेन नगरपालिका–१० आमडाँडाका स्वर्गीय डिल बहादुर लम्तरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । लम्तरीको असामयिक निधनपछि पीडित परिवारलाई सहयोग गर्न नेपाली काँग्रेस पाल्पाको टोली स्वर्गीय लम्त्तरीको निवासमै पुगेर किरियापुत्री परिवारलाई रु २०,००० (बीस हजार)रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । समाजसेवा र मानवीय संवेदनाका आधारमा अघि बढ्ने काँग्रेस पाल्पाले यो सहयोगलाई मानवीय उत्तरदायित्वका रूपमा लिएको जनाएको छ ।
स्वर्गीय डिल बहादुर लम्तरी आफ्नै घरमा लडेर घाइते भएका थिए । परिवारका सदस्यका अनुसार घटना केही दिनअघि घटेको हो । घरमा सामान्य काम गर्दै गर्दा ढल्नुभएका लम्तरीकोलाई तत्कालै अस्पताल लगिएको थियो । चिकित्सकहरूको प्रयासका बाबजुद उपचारका क्रममा उहाँको मृत्यु भएको थियो । उहाँको निधनले परिवारमा गहिरो शोक छाएको छ । हाल उहाँकी श्रीमती, ८ वर्षका छोरा रिदम लम्तरी र ६ वर्षकी छोरी रितिका लम्तरी रहेका छन् । आर्थिक रूपमा कमजोर परिवारले प्रमुख आर्जन स्रोत गुमाएपछि कठिन परिस्थितिको सामना गर्नुपरेको स्थानीयहरूले बताएका छन् ।
यसै पृष्ठभूमिमा नेपाली काँग्रेस पाल्पाले किरियापुत्री परिवारलाई सहयोग पुर्याउने निर्णय गरेको थियो । सभापति हिमाल दत्त श्रेष्ठको नेतृत्वमा टोली आईतबार आमडाँडा पुगेर परिवारलाई प्रत्यक्ष भेटी आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरणका क्रममा काँग्रेसका जिल्ला सदस्य सुरेश बोहोरा, कृष्ण थापा, नेपाली काँग्रेस तानसेन–१० का वडा सभापति दीपक कार्की, केशव मिधुनलगायतका नेताहरूको समेत उपस्थिति थियो । स्थानीय बासिन्दा र समाजसेवीहरू पनि उक्त अवसरमा उपस्थित थिए । सभापति हिमाल दत्त श्रेष्ठले किरियापुत्री परिवारलाई सान्त्वना दिँदै नेपाली काँग्रेस पाल्पाको तर्फबाट रु.२०,००० सहयोग गरेको बताउनुभयो । साथै रिदम र रितिका कक्षा १२ सम्म पढ्नका लागि आवश्यक सहयोग काङ्गेस पाल्पाले निरन्तर प्रदान गर्ने बताउनुभयो । श्रेष्ठले थप भन्नुभयो, “काँग्रेस केवल राजनीतिक दल होइन, समाजसेवाको एउटा बलियो संस्था रहेको बताउदै समाजका दुःखी र विपन्न नागरिकका छेउमा काँग्रेस सधैं रहनेछ। यो सहयोग कुनै औपचारिकता होइन, यो हाम्रो मानवीय जिम्मेवारी हो।” उहाँले पार्टीका कार्यकर्तालाई पनि मानवीय र सामाजिक उत्तरदायित्वप्रति सजग रहन आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सदस्य सुरेश बोहोरा र कृष्ण थापाले पनि स्वर्गीय लम्तरीको परिवारप्रति समवेदना व्यक्त गर्दै काँग्रेस पाल्पाको यो सहयोग अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने बताउनुभयो । स्थानीय बासिन्दाहरूले काँग्रेस पाल्पाको यो कदमको प्रशंसा गर्दै यसले पार्टीप्रतिको जनविश्वास बढाउने बताएका छन् । वडासभापति दीपक कार्कीले आफ्ना वडामा भएको घटनापछि तुरुन्तै जानकारी पाल्पा जिल्ला कार्यालयलाई दिएको र सभापति श्रेष्ठलगायतको टोलीले चाँडै यहाँ आइपुगेर सहयोग गर्नु अत्यन्त सराहनीय कदम रहेको बताउनुभयो ।








































Comments