जलवायु परिवर्तन न्यूनीकरणमा सबैको साझा दायित्व : रिब्दीकोटमा अध्ययन कार्यक्रम सम्पन्न

पाल्पा -रिब्दीकोट गाउँपालिकाको आयोजनामा “लुम्बिनी प्रदेशमा जलवायु कार्यमा प्रदेश र स्थानीय सरकारहरूको भूमिका सम्बन्धी अध्ययन कार्यक्रम” गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, विद्यालयका शिक्षक, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

 

कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी विषयमा डा. पपुलर जेन्टल (Clim Adapt) र डा. सन्तोष नेपाल (IWMI) ले सहजीकरण गर्नुभएको थियो भने सञ्चालन प्रशासन शाखा अधिकृत रुकलाल भट्टराईले गर्नुभएको थियो । सहजीकरणका क्रममा वक्ताहरूले जलवायु परिवर्तन अहिलेको विश्वको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्दै यसले वातावरण, कृषि, जलस्रोत, जैविक विविधता र सम्पूर्ण पारिस्थितिक प्रणालीमा गहिरो असर पारिरहेको तथ्य प्रस्तुत गर्नुभयो । उहाँहरूले प्रदेश र स्थानीय सरकारबीचको सहकार्यबिना जलवायु संकटको प्रभावकारी समाधान सम्भव नहुने भन्दै दीर्घकालीन नीति र कार्यान्वयनमा स्थानीय तहको भूमिका निर्णायक हुनेमा जोड दिनुभयो ।

 

कार्यक्रमका अध्यक्ष नारायण बहादुर कार्कीले जलवायु परिवर्तनको असर कुनै एक देश वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनको प्रभावले वातावरण, कृषि उत्पादन, जनजीवन र विकासका आधारभूत संरचनामा प्रतिकूल असर पारेको बताउनुभयो । यसको सामना गर्न कुनै एक पक्षको प्रयास पर्याप्त नहुने बताउदै यसका लागि स्थानीय, प्रदेश र संघीय तहबीच समन्वय, साझा जिम्मेवारी र जनस्तरको सहभागिता अपरिहार्य बताउनुभयाे । उहाँले गाउँपालिकाले वातावरण संरक्षण, वन व्यवस्थापन, हरित ऊर्जा प्रवर्द्धन, सरसफाइ र जनचेतना अभियानलाई प्राथमिकतामा राख्दै जलवायु अनुकूल योजना कार्यान्वयन गर्दै आएको बताउनुभयो ।

 

कार्यक्रमका अन्त्यमा सहभागीहरूबीच समूहगत छलफल पनि गरिएको थियो, जसमा जलवायु जोखिम न्यूनीकरणका उपायहरू, स्थानीय समुदायमा अनुकूलन अभ्यास विस्तार गर्ने रणनीति, र प्रदेश–स्थानीय तहबीचको सहकार्य सुदृढ गर्ने विषयमा सुझावहरू प्रस्तुत गरिएका थिए । सहभागीहरूले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्नका लागि नीति, योजना र व्यवहारमा समान ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

Comments