अमर नारायण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा युवराज पौड्याल चयन
अमर नारायण मन्दिर व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न बैठक तथा साधारण सभाबाट युवराज पौड्याल समितिको अध्यक्षमा चयन भएका हुन् । नवगठित कार्यसमितिको सचिवमा भिमलाल भट्टराई, कोषाध्यक्षमा किशोर दर्शन बज्राचार्य चयन भएका छन् भने सदस्यहरूमा कमल काफ्ले र बन्दना राना रहेका छन् ।
नव निर्वाचित अध्यक्ष पौड्यालले मन्दिरको संरक्षण, संवर्द्धन र व्यवस्थापनलाई व्यवस्थित तथा पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अमर नारायण मन्दिरलाई धार्मिक आस्थाको केन्द्रका साथै सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । नयाँ समितिले नियमित पूजाआजा, पर्व–उत्सवको व्यवस्थित सञ्चालन र भक्तजनका लागि सुविधा विस्तारलाई प्राथमिकतामा राखेको छ ।
समितिको गठनपछि स्थानीय भक्तजन, समाजसेवी तथा बुद्धिजीवीहरूले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनीहरूले मन्दिर व्यवस्थापनमा पारदर्शिता, सहभागिता र उत्तरदायित्व कायम रहने अपेक्षा व्यक्त गर्दै नयाँ नेतृत्वबाट अमर नारायण मन्दिरको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अमरनारायण मन्दिर विसं १९६३ मा विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैंचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा अद्यापि छदैछ । मन्दिर सञ्चालन गर्नका लागि गुठीका व्यवस्था समेत गरिएको छ । नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । यिनैले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका थिए । यो मन्दिर बनाउन काठमाण्डौका नेवार कालीगढहरु झिकाएका कारण पनि तानसेनमा काठमाण्डौमा जस्तै असन, टुँडिखेल, मखन आदि नामका ठाउँहरु छन् । यहाँ पनि किर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् । यसो गरे चिर्को वा बज्र पर्दैन भन्ने मान्यता छ ।








































Comments