भोटेकोशी बाढीपीडितका लागि पाल्पा उद्योग वाणिज्य संघद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग !!
पाल्पा-रसुवाको भोटेकोशीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति पाल्पा उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गर्दै बाढी पीडितका लागि आर्थिक सहयोग गरेको छ । बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति संघले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै बाढीमा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो । संघका कार्यसमिति सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार, उपसमिति सदस्य, कर्मचारी तथा संघको संयुक्त योगदानमा उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंहले जानकारी दिनुभयो ।
अध्यक्ष सिंहले विपद्का कारण प्रभावित भएका नागरिकको पीडा कम गर्न सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्व समेत भएकाले संघले आफ्नो तर्फबाट सहयोग गरेको उहाँले बताउनुभयो । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विभिन्न संघसंस्था, व्यवसायी, नागरिक तथा सामाजिक क्षेत्रबाट राहत तथा सहयोग जुटाउने क्रम जारी रहेको छ । पाल्पा उद्योग वाणिज्य संघले पनि विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको उधोग वाणिज्य संघका महासचिव विनायक महर्जनले बताउनुभयो ।









































Comments