भोटेकोशी बाढीपीडितका लागि भैरवनाथ मन्दिरको १ लाख १ हजार १११ रुपैयाँ सहयोग

पाल्पा, भदौ १६ । रिब्दीकोट गाउँपालिका-४ भैरवस्थानमा रहेको भैरवनाथ मन्दिर व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीको मंगलबार पदस्थापन भएको छ । अध्यक्ष दुर्गा प्रसाद खनाल , सचिव शिव प्रसाद पोखरेल, कोषाध्यक्ष राजकुमार प्रधान, सदस्यहरू विष्णु कार्की र प्रशन्न श्रेष्ठले एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै नवनिर्वाचित अध्यक्ष दुर्गा प्रसाद खनालले आफूले मन्दिरमा राजनीति नगर्ने प्रतिबद्धता जनाउनुभयो। मन्दिर जस्तो पवित्र स्थललाई साझा धार्मिक स्थलका रूपमा सबैको अपनत्व हुनेगरी गतिविधि संचालन गर्ने बताउनुभयो । मन्दिरको बृहत् विकासका लागि सबै नागरिकको सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो । आजको पहिलो बैठकले भोटेकोशी बाढी पीडित नागरिकलाई एक लाख १ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

 

भूमि प्रशासन पाल्पाका प्रमुख दुर्गा खनालले समितिका पदाधिकारीको नाम गुठी संस्थानको प्रधान कार्यालयबाट स्वीकृत भएर आएको बताउनुभयो । गुनासो आउन नदिने गरी काम गर्न उहाँले सुझाव दिनुभयो । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जिसीले लामो अन्योल पछि मन्दिरले निकास पाएको बताउनुभयो । स्थानीय सरकारले पनि सकारात्मक सहयोग गर्नुपर्ने बताउनुभयो । मन्दिरको व्यवस्थापन र पारदर्शितामा ध्यन दिन समितिलाई अनुरोध गर्नुभयो । रिब्दीकोट गाउँपालिकाका पूर्व उपाध्यक्ष लक्ष्मी खनालले सर्वसम्मत गठन भएको समितिले विगतमा भएका भन्दा उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गर्नुभयो । यस क्षेत्रको विकासमा भैरवस्थान बासी एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । नेकपा एमालेका प्रतिनिधि माधवप्रसाद ढकालले एसियाकै ठूलो त्रिशुल भएको मन्दिरका रूपमा स्थापित गर्न नवनिर्वाचित समितिलाई अनुरोध गर्नुभयो ।

 

नेपाल सरकारका पूर्व कर्मचारी सुन्दर श्रेष्ठले समिति गठन गर्न विलम्ब हुँदा मन्दिरको कामकाजमा समस्या भएको बताउनुभयो । ढिलो नै भएपनि समिति गठन भएको छ । जिम्मेवारी पाएका पदाधिकारीले मन्दिरको रथलाई सुझबुझ पूर्ण तरिकाले अगाडि बढाउन सुझाव दिनुभयो । भैरव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश  गौतमले मन्दिरको हितमा समितिका पदाधिकारी मिलेर काम गर्नुपर्ने बताउनुभयो । मन्दिरको बदनाम गरेर यहाँका नागरिकको इजतमा आँच आउने काम गर्ने  छुट कसैलाई नभएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष विजय बौडेलले प्रसिद्ध यस मन्दिरमा गरिमा अझै उचो हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । राजनीतिक प्रभावमा नपरेर साझा रूपमा  मन्दिरको हितमा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

पाल्पा ब्यापार संघका महासचिव तथा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष तुलबहादुर अधिकारीले यस मन्दिरको सकारात्मक प्रचारप्रसारलाई जोड दिनुपर्ने बताउनुभयो । राजनीतिक आस्था र विचार भन्दा माथि उठेर मन्दिरको विकासमा लाग्न अनुरोध । एक मन एक तन र एक जुट भएर अगाडि बढ्नुपर्छ । गुरु योजना बनाएर मन्दिरको चौतर्फी विकासमा अगाडि बढ्न उहाँले अनुरोध गर्नुभयो ।

मन्दिरका व्यवस्थापक मिनबहादुर बुढाथोकीले कार्यक्रमको संचालन गर्नुभएको थियो । समितिले २ वर्ष १ महिना १५ दिनमा पूर्णता पाएको हो । गत असार ३१ गतेको भेलाले सर्वसम्मत समिति गठन गरेर नामावली गुठी संस्थानमा पठाएको थियो । संस्थानबाट स्वीकृत भएर आएपछि पदस्थापन भएको भूमि प्रशासन पाल्पाका प्रमुख दुर्गा खनालले बताउनुभयो

Comments