भोटेकोशी बाढीमा ज्यान गुमाएका विष्टको परिवारलाई कांग्रेस पाल्पाको आर्थिक सहयोग
पाल्पा — भोटेकोशी बाढीमा परी निधन भएका तानसेन नगरपालिका–१०, सुनडाँडाका दिपेन्द्र विष्टको परिवारलाई नेपाली कांग्रेस पाल्पाले नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू विष्टको घरमै पुगेर शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै आर्थिक सहयोग प्रदान गरेका हुन ।
शोकसभामा नेपाली कांग्रेस पाल्पाका सचिव सन्तोषकुमार थापा मगर, सचिव सुनिता अधिकारी, कोषाध्यक्ष एवं तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठ, जिल्ला सदस्य सुरेश बोहोरा, गिरिजा गैरे, नेपाली कांग्रेस पाल्पाका नेता शिवचन्द खनाल, शान्ति झेडी, नेपाली कांग्रेस तानसेन–१० का वडा सभापति दीपक कार्की, भोजराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
भोटेकोशी बाढीमा परी ज्यान गुमाएका विष्ट नेपाल प्रहरीमा प्रहरी सहायक हवल्दार पदमा कार्यरत थिए । बाढीमा परी उनको निधन भएपछि परिवार शोकमा परेको छ । विष्टका श्रीमती र करिब डेढ वर्षीया एक छोरी रहेका छन । कांग्रेस पाल्पाको टोलीले विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकको यस घडीमा परिवारप्रति साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ ।









































Comments