तानसेनमा विभिन्न सीपमूलक तालिम सम्पन्न, ३८४ जना नागरिक स्वरोजगारतर्फ उन्मुख
तानसेन, पाल्पा । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत तानसेन नगरपालिकाको समन्वय तथा शिव इन्स्टिच्युट अफ मल्टि टेक्निकल एजुकेसन प्रा.लि. पाल्पाको तालिम प्रदायकत्वमा सञ्चालन गरिएका विभिन्न सीपमूलक तथा उद्यमशीलता विकाससम्बन्धी तालिमहरू सम्पन्न भएका छन्। स्थानीय नागरिकलाई सीपयुक्त बनाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका यी तालिमबाट तानसेन नगरपालिकाका ३८४ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएका उद्यमशीलता विकास तालिम, घरवास (होमस्टे) तथा रैथाने पाक शिक्षा तालिम, पर्यटन गाइड तालिम, स्थानीय संस्कृति जगेर्ना तथा स्थानीय भेषभूषा प्रवर्द्धन तालिम, हाउसकिपिङ तालिम तथा मौरी पालन विकास तालिम सफलतापूर्वक सम्पन्न भएका हुन्। यी तालिमहरू तानसेन नगरपालिका वडा नं. ५, ११, १२, १३ र १४ मा सञ्चालन गरिएको थियो।
आयोजकका अनुसार उद्यमशीलता विकास तालिममा ५० जना, घरवास तथा रैथाने पाक शिक्षा तालिममा ५० जना, पर्यटन गाइड तालिममा ७० जना, स्थानीय संस्कृति जगेर्ना तथा स्थानीय भेषभूषा प्रवर्द्धन तालिममा ५० जना, हाउसकिपिङ तालिममा १२४ जना तथा मौरी पालन विकास तालिममा ४० जना सहभागी भएका थिए। विभिन्न तालिममा सहभागी कुल ३८४ जनाले व्यावसायिक तथा व्यवहारिक सीप हासिल गरी स्वरोजगार तथा उद्यमशील गतिविधितर्फ अग्रसर हुने अवसर प्राप्त गरेका छन्। तालिम समापन कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सीपमूलक तालिमहरू प्रभावकारी माध्यम बनेको बताउनुभयो । उहाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार तथा उत्पादनमूलक कार्यमा संलग्न हुन सहभागीहरूलाई आग्रह गर्नुभयो ।
नगर उपप्रमुख प्रतिक्षा सिङ्जालीले महिलाहरू, युवाहरू तथा बेरोजगार नागरिकलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाले सीप विकासमार्फत रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्न नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघकी उपाध्यक्ष रञ्जना अर्याल, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की, होमस्टे व्यवसायी अशोक थापा तथा कार्यपालिका सदस्य मञ्जु विक लगायतले तालिमले स्थानीय नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो । उहाहरूले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई प्रेरित गर्नुभयो ।
समापन समारोहमा प्रशिक्षार्थीहरूले पनि तालिमबाट प्राप्त ज्ञान र सीपले आफ्नै गाउँ–ठाउँमा व्यवसाय सञ्चालन गर्न, पर्यटन क्षेत्रको विकास गर्न, स्थानीय संस्कृति संरक्षण गर्न तथा कृषि र मौरीपालनजस्ता व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाहरूले यस्ता कार्यक्रमले वैदेशिक रोजगारको विकल्प खोज्न तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुगेको बताउनुभयो । तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमाणपत्र ग्रहणपछि सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै स्वरोजगार तथा उद्यमशील गतिविधिमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम तानसेन वडा नं. ५ का वडा अध्यक्ष रामबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिव इन्स्टिच्युट अफ मल्टि टेक्निकल एजुकेसन प्रा.लिका सञ्चालक कमल भट्टराईको नेतृत्व तथा सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो। सहभागी तथा अतिथिहरूले यस्ता सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने, उद्यमशीलता विकास गर्ने, स्थानीय उत्पादन तथा सेवाको प्रवर्द्धन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । विशेषगरी पर्यटन, होमस्टे, हाउसकिपिङ, मौरीपालन तथा उद्यमशीलता क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन हुँदा तानसेन नगरपालिकाको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।









































Comments