तानसेन–७ मा २५० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

पाल्पा-तानसेन नगरपालिका वडा नं. ७ को आयोजनामा २५० जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको छ। समाजमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूप्रति आत्मीयता, सम्मान र समावेशी भावनाको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

 

कार्यक्रम तानसेन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रदिप खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष मुक्तिराम जिसी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति मिन प पौडेल, नेपाली कांग्रेस वडा नं. ७ का प्रतिनिधि माधव न्यौपाने, नेकपा (एमाले) तानसेन वडा नं. ७ का वडा समिति अध्यक्ष श्रीकृष्ण पाण्डेय तथा नेपाल कम्युनिष्ट पार्टी तानसेन–७ का अध्यक्ष नेत्र गौतमअतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा सदस्यहरू रिमा शारूसुशील नेपाल र मिना परियारको समेत उपस्थिति रहेको थियो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रदिप खनालले ज्येष्ठ नागरिकहरू समाजका जीवित इतिहास, अनुभव र संस्कारका संवाहक भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकले आफ्नो जीवनभर परिवार, समाज र राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “हाम्रा ज्येष्ठ नागरिकहरू अनुभवका विश्वविद्यालय हुनुहुन्छ। उहाँहरूको ज्ञान, भोगाइ र जीवनदर्शनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्छन,उहाँहरूलाई सम्मान गर्नु भनेको हाम्रो संस्कार, संस्कृति र सामाजिक मूल्यको सम्मान गर्नु हो। वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गको जीवनस्तर सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । 

 

कार्यक्रमका अतिथि तथा वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष मुक्तिराम जिसीले स्थानीय सरकारले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्दै सम्मान कार्यक्रम आयोजना गर्नु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकमा आत्मसम्मान बढ्नुका साथै समाजमा सम्मानको संस्कृतिलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति मिन प पौडेलले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू समाजका सम्मानित सदस्य भएको उल्लेख गर्दै उनीहरूका आवश्यकता सम्बोधन गर्न सबै राजनीतिक दल, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । 

 

नेपाली कांग्रेस वडा नं. ७ का प्रतिनिधि माधव न्यौपानेले ज्येष्ठ नागरिकको अनुभव राष्ट्रको सम्पत्ति भएको बताउनुभयो । उहाँले नयाँ पुस्ताले ज्येष्ठ नागरिकबाट अनुशासन, परिश्रम, नैतिकता र सामाजिक उत्तरदायित्व सिक्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सम्मान कार्यक्रमले पुस्तान्तरणबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । नेकपा (एमाले) तानसेन वडा नं. ७ का वडा समिति अध्यक्ष श्रीकृष्ण पाण्डेयले समाजका हरेक नागरिक सम्मानका पात्र भएको उल्लेख गर्दै ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्नु सभ्य समाजको परिचय भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले सञ्चालन गरेका यस्ता कार्यक्रमले सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने धारणा राख्नुभयो। 

 

नेपाल कम्युनिष्ट पार्टी तानसेन–७ का अध्यक्ष नेत्र गौतमले अपाङ्गता भएका व्यक्तिलाई दया होइन, समान अवसर, सम्मान र सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले सार्वजनिक सेवा, पूर्वाधार र विकासका सबै योजनामा अपाङ्गतामैत्री दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सम्मानित २५० जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई इलेक्ट्रिक जग, सम्मानपत्र तथा रूमाल प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेपछि सहभागीहरूले स्थानीय सरकारले आफूहरूको योगदानको कदर गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले आत्मविश्वास र उत्साह बढाएको प्रतिक्रिया दिएका थिए । कार्यक्रमको स्वागत मन्तव्य वडा सचिव लक्ष्मण भट्टराईले राख्नुभएको थियो । उहाँले वडा कार्यालयले समावेशी विकास, सामाजिक सुरक्षा तथा समुदायका सबै वर्गलाई समेट्ने कार्यक्रमलाई निरन्तर अघि बढाउँदै आएको जानकारी दिनुभयो । आगामी दिनमा पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका तथा अन्य लक्षित समुदायका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

 

कार्यक्रममा उपस्थित वडा सदस्यहरू रिमा शारूसुशील नेपाल र मिना परियारले सम्मान कार्यक्रम सफल बनाउन आवश्यक समन्वय र सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले वडा कार्यालयले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गरेका थिए । स्थानीय तहको यस्तो पहलले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सम्मानित महसुस गराउनुका साथै समाजमा समावेशी विकास, आपसी सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । वडा नं. ७ ले आगामी वर्षहरूमा पनि यस्ता सम्मान तथा सामाजिक कल्याणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

Comments