तानसेन खानेपानी उपभोक्ता समितिको ११औँ वार्षिक साधारण सभा सम्पन्न, दीर्घकालीन खानेपानी योजनामा जोड
पाल्पा- तानसेन खानेपानी उपभोक्ता समितिको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा खानेपानी सेवाको दिगोपना, गुणस्तरीय वितरण तथा भविष्यका पूर्वाधार विकासका योजनाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभामुखले तानसेन खानेपानी उपभोक्ता समितिले विगतदेखि नै उपभोक्ताको हितलाई केन्द्रमा राखेर सञ्चालन गर्दै आएको भन्दै यसको महत्व प्रदेशका अन्य खानेपानी उपभोक्ता समितिभन्दा विशिष्ट रहेको बताउनुभयो । उहाँले तानसेनजस्तो ऐतिहासिक तथा पहाडी शहरमा सुरक्षित खानेपानीको व्यवस्थापन चुनौतीपूर्ण भए पनि समितिले निरन्तर सेवा प्रवाह गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो । सभामुख घर्तीले खानेपानीको दिगो व्यवस्थापनका लागि स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भविष्यका आवश्यकतालाई ध्यानमा राखेर दीर्घकालीन योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले तानसेनमा खानेपानी सेवाको गुणस्तर र पहुँच विस्तारका लागि समितिले अघि सारेका योजनाले भविष्यमा थप प्रभावकारी सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उपभोक्ताको विश्वासलाई कायम राख्दै अझ जिम्मेवार ढंगले काम गर्न समितिलाई शुभकामना दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाले खानेपानी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । नगरपालिकाले आवश्यक नीति, योजना तथा बजेटमार्फत समितिलाई निरन्तर साथ र सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले खानेपानी सेवा विस्तार तथा पूर्वाधार निर्माणमा आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रवि मोहन श्रेष्ठ, नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा (एमाले) का धनेन्द्रराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका नेत्र पाण्डेय, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंह, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, भगवती गुठीका अध्यक्ष अशोक महर्जन तथा युनाइटेड मिसन अस्पतालकी रचेल कारकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले तानसेन खानेपानी उपभोक्ता समितिले उपभोक्तालाई निरन्तर सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै भविष्यमा बढ्दो जनसंख्या र खानेपानीको मागलाई ध्यानमा राखी दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल समितिमा ४ हजार ४ सय ५५ जना व्यक्तिगत तथा २ सय ५७ संस्थागत गरी कुल ४ हजार ७ स १२ सदस्य आबद्ध रहेको जानकारी दिनुभयो । उहाँले तानसेनमा खानेपानी आपूर्तिलाई थप भरपर्दो बनाउन बतासेडाँडामा ५० लाख लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण गर्ने दीर्घकालीन योजना अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारसमक्ष पेश गरिएको थियो। चालु आर्थिक वर्षमा सो आयोजनाका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन भए पनि विभिन्न प्रशासनिक तथा प्रक्रियागत कारणले हालसम्म ठेक्का प्रक्रिया अगाडि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । योजना समयमै कार्यान्वयन भए तानसेनमा खानेपानी आपूर्तिमा हुने अवरोध न्यूनीकरण हुनुका साथै भविष्यमा बढ्दो माग व्यवस्थापन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले सेवा विस्तारलाई पनि समितिले प्राथमिकतामा राखेको बताउँदै तानसेन नगरपालिका वडा नं. १२ मौवाडाँडा र वडा नं. १३ बौघागुम्हामा ५२ घरधुरीसम्म नयाँ पाइपलाइन विस्तार गरी सुरक्षित खानेपानी उपलब्ध गराइएको जानकारी दिनुभयो । आगामी दिनमा पनि आवश्यकताका आधारमा नयाँ बस्ती तथा सेवा नपुगेका क्षेत्रमा विस्तारलाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।
समितिकी कोषाध्यक्ष शुसिला श्रेष्ठ कर्माचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समितिको कुल आर्थिक आय–व्यय ४ करोड ९४ लाख ७३ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो । उहाँले समितिले प्राप्त स्रोतसाधनको पारदर्शी, मितव्ययी र उत्तरदायी ढंगले परिचालन गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन प्रयासरत रहेको बताउनुभयो । कार्यक्रममा समितिका उपाध्यक्ष लालमने अदेय पुनले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागी सम्पूर्ण अतिथि, उपभोक्ता तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो । समितिका सचिव प्रेमबहादुर मल्लले सञ्चालन गर्नुभएको कार्यक्रम विभिन्न निर्णय तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै सम्पन्न भएको थियो । साधारण सभाले तानसेनमा गुणस्तरीय, भरपर्दो र दीर्घकालीन खानेपानी सेवाको सुनिश्चितताका लागि सबै सरोकारवाला निकायबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।









































Comments