तानसेन–९ का ५२ कृषकलाई १२० मौरीघार वितरण, डाँडाडुङ्गालाई मौरी पालन पकेट क्षेत्र बनाउने लक्ष्य

पाल्पा, असार १० — तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सञ्चालित तानसेन आर्थिक विकास परियोजना अन्तर्गत तानसेन नगरपालिका वडा नं. ९ को डाँडाडुङ्गा क्षेत्रमा ५२ जना कृषकहरूलाई १ सय २० वटा मौरीघार वितरण गरिएको छ । मौरी पालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा तिनपिप्ले समूह र मौरी पालन समूहका सदस्यहरूलाई आवश्यक तालिम प्रदान गरेपछि मौरीघार हस्तान्तरण गरिएको हो । डाँडाडुङ्गामा आयोजित कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले मौरी पालनलाई उत्पादन र आयआर्जनसँग जोडेर व्यवसायिक रूपमा अगाडि बढाउन कृषकहरूलाई आग्रह गर्नुभयो । उहाँले वितरण गरिएका मौरीघारलाई केवल अनुदानका रूपमा नलिई दिगो आयआर्जनको माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मौरी पालन व्यवसाय अन्य धेरै व्यवसायको तुलनामा सरल, सहज तथा दीर्घकालीन रूपमा लाभदायक रहेको उल्लेख गर्दै तालिममार्फत प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतारेर उद्यमशील बन्न आग्रह गर्नुभयो । साथै तानसेन नगरपालिका वडा नं. १३, १० र वडा नं. ९ को डाँडाडुङ्गा क्षेत्र होमस्टे सञ्चालनका लागि सम्भावनायुक्त रहेको बताउँदै कृषि, मौरी पालन र पर्यटनलाई एकीकृत रूपमा विकास गर्न सके स्थानीय अर्थतन्त्र सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै नगरपालिकाले यसतर्फ योजना अगाडि बढाएकोले स्थानीय नागरिक अग्रसर हुन आग्रह गर्नुभयो । 

 

कार्यक्रममा तानसेन आर्थिक विकास परियोजनाका परियोजना अधिकृत चन्द्रबहादुर रानाले परियोजनाको मुख्य उद्देश्य स्थानीय कृषकहरूको आम्दानी वृद्धि, रोजगारी सिर्जना तथा दिगो आर्थिक विकास रहेको बताउनुभयो । उहाँले मौरी पालनले मह उत्पादनसँगै वातावरणीय सन्तुलन कायम गर्न, परागसेचन वृद्धि गर्न तथा कृषि उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार परियोजनाले घार वितरणमा मात्र सीमित नरही कृषकहरूलाई तालिम, प्राविधिक परामर्श, अनुगमन तथा बजारीकरणका क्षेत्रमा समेत निरन्तर सहयोग प्रदान गर्नेछ । कृषकहरूलाई उत्पादनसँगै व्यवस्थापन र बजार पहुँचमा सक्षम बनाउनु परियोजनाको प्रमुख लक्ष्य रहेको उहाँको भनाइ थियो ।

 

तानसेन नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले डाँडाडुङ्गालाई मौरी पालन पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित वडा कार्यालयले उक्त क्षेत्र छनोट गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले डाँडाडुङ्गाको भौगोलिक अवस्था, वनस्पति विविधता तथा प्राकृतिक वातावरण मौरी पालनका लागि अत्यन्त अनुकूल रहेको बताउनुभयो । उहाँले डाँडाडुङ्गा होमस्टे सञ्चालनका लागि समेत उपयुक्त स्थान रहेको उल्लेख गर्दै कृषि र पर्यटनलाई सँगसँगै विकास गर्न सके यस क्षेत्रलाई आकर्षक कृषि तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने धारणा व्यक्त गर्नुभयोफ। स्थानीय समुदायको सक्रिय सहभागिताबाट यस क्षेत्रको समग्र विकास सम्भव रहेको उहाँको भनाइ थियो ।

 

कार्यक्रममा सहभागी कमल पल्लीले मौरीघार प्राप्त गरेपछि व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको बताउनुभयो । उहाँले तालिमबाट मौरी पालनसम्बन्धी व्यावहारिक ज्ञान हासिल भएको र आगामी दिनमा यसलाई आयआर्जनको महत्वपूर्ण स्रोतका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाका लेखापाल कृष्ण अर्यालले यस्ता कार्यक्रमहरूले ग्रामीण समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाँले अनुदानसँगै सीप विकास र व्यवस्थापन क्षमताको अभिवृद्धि परियोजनाको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । कार्यक्रमका संयोजक विष्णु रेग्मीले मौरी पालनमार्फत स्थानीय कृषकहरूको आयवृद्धि, महिला तथा युवाको सहभागिता विस्तार तथा ग्रामीण उद्यमशीलताको विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि आवश्यक प्राविधिक सहयोग, अनुगमन तथा सहजीकरणलाई निरन्तरता दिइने जानकारी दिनुभयो । उक्त कार्यक्रममा परियोजना प्रतिनिधिहरू, कृषक समूहका सदस्यहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तालिम र मौरीघार वितरणसँगै डाँडाडुङ्गा क्षेत्रमा व्यवसायिक मौरी पालन विस्तार हुने तथा कृषि र पर्यटनसँग जोडिएका नयाँ आर्थिक अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ । 

Comments