प्रभात माध्यमिक विद्यालयलाई सिटिजन्स बैंक तानसेन शाखाद्वारा डेस्क तथा बेन्च सहयोग

पाल्पा-सिटिजन्स बैंक लिमिटेडको तानसेन शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रिब्दीकोट गाउँपालिका–७, मैनादीस्थित श्री प्रभात माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई थप सहज, व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले डेस्क तथा बेन्च सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष डुलबहादुर कुँवरको अध्यक्षता तथा बैंकका शाखा प्रबन्धक रुद्रमणि सुबेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । 

 

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुबेदीले बैंकले नाफामूलक संस्था मात्र नभई समाजप्रति उत्तरदायी संस्थाको रूपमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि राम्रो शैक्षिक वातावरण आवश्यक पर्ने उल्लेख गर्दै विद्यालयलाई प्रदान गरिएको डेस्क तथा बेन्चले विशेषगरी आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारमा सरकारी निकायसँगै निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाको समेत सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष डुलबहादुर कुँवरले सिटिजन्स बैंकले विद्यालयप्रति देखाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यार्थीलाई व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको विकासमा सबै पक्षको साझा दायित्व रहने उल्लेख गर्दै सरकारी लगानीसँगै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत हुने सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक जनकप्रसाद आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, उपलब्धि, भावी योजना तथा विद्यालयका आवश्यकताबारे जानकारी गराउँदै आवश्यकताको आधारमा सहयोग गरेकोमा बैंकप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त डेस्क तथा बेन्चले विद्यार्थीहरूलाई सहज, सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने तथा विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने बताउनुभयो । 

 

कार्यक्रममा बैंकका सहायक शाखा प्रबन्धक सुशान्त श्रेष्ठ, कर्मचारी सुमन नेपाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक–शिक्षिका, अभिभावक, स्थानीय बुद्धिजीवी तथा विद्यालयमा अध्ययनरत करिब एक सय जना विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले शिक्षा क्षेत्रमा बैंकले गरेको सहयोगको प्रशंसा गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले सामुदायिक विद्यालयको विकास, विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि तथा समाजमा शिक्षा प्रतिको सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए । सिटिजन्स बैंक लिमिटेडले बैंकिङ सेवा विस्तारसँगै समाजप्रतिको दायित्वलाई पनि समान रूपमा प्राथमिकतामा राख्दै देशका विभिन्न भागमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् व्यवस्थापन तथा सामुदायिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल बैंकले देशभर दुई सय शाखा, तीन वटा विस्तारित सेवा काउन्टर तथा एक सय अठसट्ठी एटीएममार्फत आधुनिक, सुरक्षित, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा लगायत सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेको जनाएको छ।

Comments