पानीको दुःखबाट राहततर्फ बगनासकालीः लिफ्ट खानेपानी योजनाले फेरिँदै डाँडाबस्तीको जीवन

बिष्णुप्रसाद घिमिरे । पाल्पा 

एक समय थियो, बगनासकालीका धेरै गाउँमा बिहानको पहिलो काम पानीको जोहो गर्नु हुन्थ्यो । घरबाट घण्टौं टाढा रहेको मुलसम्म पुगेर गाग्रीमा पानी बोकेर ल्याउनु यहाँका नागरिकको दैनिक बाध्यता थियो । खडेरी लाग्नेबित्तिकै धाराहरू सुक्थे, मुलको पानी घट्थ्यो र खानेपानीको संकट झनै गहिरिन्थ्यो। तर अहिले बिस्तारै त्यो अवस्था बदलिँदै गएको छ । 

 

बराङ्दी, चापपानी, खानीगाउँमा यो समस्या ७ वर्षसम्म उस्तै थियो । यहाँ तातोपानी लिफ्ट खानेपानी संचालनमा आएपछि यस क्षेत्रका नागरिकहरुलाई धेरै सहज भएको छ । यो बीचमा स्थानीय साना लिफ्टहरु पनि यहाँ सञ्चालित छन् ।  डाँडाकाँडाले भरिएको पाल्पाको बगनासकाली गाउँपालिकामा अधिकांश बस्ती उचाइमा रहेका कारण खानेपानीको मुख्य आधार लिफ्ट प्रणाली बनेको छ । नदी तथा खोल्साबाट मोटरको सहायताले माथिल्लो बस्तीमा पानी पु¥याउने प्रविधिले यहाँका हजारौं नागरिकको जीवन सहज बनाइरहेको छ । 

 

हालै बगनासकाली गाउँपालिका–९ अन्तर्गत साविक वडा नं. २ र ६ का बस्तीलाई लक्षित गरी निर्माण गरिएको जरुवापानी लिफ्ट खानेपानी योजना सम्पन्न भएसँगै स्थानीयमा खुसी थपिएको छ । प्रदेश सरकारको झण्डै तीन करोड रुपैयाँ लागतमा सम्पन्न भएको उक्त योजनाबाट १ सय ३५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष ज्ञानराज तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार योजना सञ्चालनमा आएपछि वर्षौंदेखिको खानेपानी समस्या समाधान हुने विश्वास स्थानीयमा बढेको छ । “पहिले पानीका लागि धेरै दुःख गर्नुपथ्र्यो, अब घर नजिकै धाराबाट पानी पाउने आशा जागेको छ ।” उहाँले भन्नुभयो । 

 

भूकम्पपछि झन् बढ्यो पानीको संकट

बगनासकालीका धेरै बस्तीमा खानेपानीको समस्या नयाँ होइन । वर्षौंदेखि डाँडाबस्तीमा पानीको अभाव रहँदै आएको छ । त्यसमाथि २०७२ सालको भूकम्पपछि धेरै प्राकृतिक मुहान र मुलहरू भासिँदा समस्या झनै जटिल बनेको स्थानीय बताउँछन् । 

खडेरीको समयमा त कतिपय धाराहरू पूर्ण रूपमा सुक्ने अवस्था आउँछ । यस्तो बेला नागरिकले टाढाटाढाबाट पानी ल्याउनुपर्ने बाध्यता हुन्छ । त्यसैले गाउँपालिकाले खानेपानीलाई प्राथमिकतामा राखेर लिफ्ट योजनाहरू विस्तार गर्दै आएको छ ।

 

पालिकाको सहुलियतले उपभोक्तालाई राहत

लिफ्ट खानेपानी योजना निर्माण गर्नु मात्र चुनौती होइन, यसको नियमित सञ्चालन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मोटर चलाउन आवश्यक विद्युत् खर्च र मर्मतसम्भारका कारण उपभोक्तामाथि आर्थिक भार पर्न सक्छ । यही अवस्थालाई ध्यानमा राख्दै बगनासकाली गाउँपालिकाले विद्युत् महसुलमा ६० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकका अनुसार मोटर बिग्रिएमा मर्मत तथा नयाँ मोटर खरिदका लागि लाग्ने खर्चको ६० प्रतिशत रकम पनि गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ ।

 

“खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा गर्न उपभोक्तालाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले सहुलियत दिँदै आएको हो । ” उपाध्यक्ष पाठकले भन्नुभयो । यसबाट लिफ्ट योजनाहरूको सञ्चालन दिगो बन्नुका साथै उपभोक्तालाई समेत ठूलो राहत पुगेको छ ।

 

दर्लमडाँडाका उपभोक्ता रमेश गैरे गाउँपालिकाको यो व्यवस्थाले आफूहरूलाई निकै सहज भएको बताउनुहुन्छ । “महसुलको धेरै हिस्सा पालिकाले तिरिदिएपछि योजना सञ्चालन गर्न सजिलो भएको छ । उपभोक्तामाथिको आर्थिक बोझ पनि घटेको छ ।” उहाँले भन्नुभयो । साना साना योजनाहरुलाई एकीकृत गरी अव ठूला योजनाहरु मात्र संचालन गर्ने हो भने धेरै खर्च कम हुने उहाँको भनाई छ । 

 

६२ वटा योजनामा वार्षिक २५ लाखभन्दा बढी सहुलियत

बगनासकालीमा अहिले लिफ्ट खानेपानी योजनाहरूको सञ्जाल विस्तार हुँदै गएको छ । गाउँपालिकाको लेखा शाखाका प्रमुख कोशलराज पौडेलका अनुसार हाल गाउँपालिकाभित्र सञ्चालनमा रहेका ६२ वटा लिफ्ट खानेपानी योजनाले वार्षिक २५ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल सहुलियत प्राप्त गरिरहेका छन् ।  यसले खानेपानीलाई सेवा मात्र नभई नागरिकको जीवनस्तरसँग जोडिएको आधारभूत अधिकारका रूपमा गाउँपालिकाले प्राथमिकता दिएको देखिन्छ । 

 

कालीगण्डकीबाट बगनासकालीभरि पानी पु¥याउने तयारी

स्थानीय तहको यही प्रयासलाई अझ प्रभावकारी बनाउन अहिले बृहत् कालीगण्डकी लिफ्ट खानेपानी आयोजना को काम तीव्र गतिमा अघि बढिरहेको छ । 

 

इन्जिनियर कल्याणसिं पाण्डेका अनुसार कालीगण्डकी नदीबाट दुई चरणमा पानी दानसिङ्गासम्म लिफ्ट गरिनेछ । त्यसपछि चापपानीसम्म पाइपमार्फत सिधै पानी पु¥याइने र त्यहाँबाट अर्को मोटरको सहायताले बगनाससम्म ल्याइने योजना छ ।

 

बगनासमा ल्याइएको पानीलाई हाल सञ्चालनमा रहेका ट्यांकी तथा पाइप सञ्जालसँग जोडेर गाउँपालिकाभरि वितरण गरिने तयारी गरिएको छ । योजना सम्पन्न भएपछि बगनासकालीका अधिकांश बस्तीमा दीर्घकालीन रूपमा खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । 

 

विकाससँगै बढ्दै आशा

खानेपानी केवल पूर्वाधारको विषय होइन, यो स्वास्थ्य, सरसफाइ, शिक्षा र समग्र जीवनस्तरसँग प्रत्यक्ष जोडिएको आवश्यकता हो । पानीको अभावका कारण वर्षौंदेखि दुःख खेप्दै आएका बगनासकालीका नागरिकका लागि लिफ्ट खानेपानी योजनाहरू आशाको नयाँ आधार बनेका छन् । 

 

तातोपानी लिफ्ट खानेपानी योजना, जरुवापानी लिफ्ट खानेपानी योजना जस्ता आयोजनाले तत्कालीन समस्या समाधान गरिरहेका छन् भने बृहत् कालीगण्डकी लिफ्ट खानेपानी आयोजनाले भविष्यमा बगनासकालीलाई खानेपानीका दृष्टिले आत्मनिर्भर बनाउने विश्वास जगाएको छ । डाँडामाथिका बस्तीमा धाराबाट सहजै पानी बग्न थालेसँगै यहाँका नागरिकको जीवनशैली पनि बिस्तारै परिवर्तनको दिशामा अघि बढिरहेको छ । 

Comments