पाल्पामा लुम्बिनी प्रदेशस्तरीय ब्ल्याक बेल्ट ग्रेडिङ तथा दीक्षान्त समारोह शुरू

पाल्पा, तानसेन। नेपाल सितोरियो कराते संघको आयोजनामा तथा नेपाल सितोरियो कराते संघ लुम्बिनी प्रदेशको सहआयोजनामा लुम्बिनी प्रदेशस्तरीय ब्ल्याक बेल्ट ग्रेडिङ तथा दीक्षान्त समारोह शुक्रबार पाल्पाको तानसेनमा शुरू भएको छ । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका कराते खेलाडी तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको कार्यक्रममा ब्ल्याक बेल्ट ग्रेडिङसँगै दीक्षान्त समारोह सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले गर्नुभएको थियो ।

 

कार्यक्रममा नगर प्रमुख  श्रेष्ठले कराते खेलले अनुशासन, आत्मविश्वास र आत्मरक्षाको भावना विकास गर्ने भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुद स्वस्थ समाज निर्माणको आधार भएकाले युवालाई खेलसँग जोड्न सबैको साझा प्रयास आवश्यक पर्ने धारणा राख्नुभयो । उहाँले ब्ल्याक बेल्ट प्राप्त गर्नु ठूलो उपलब्धि मात्र नभई थप जिम्मेवारी पनि भएको उल्लेख गर्दै खेलाडीहरूले निरन्तर अभ्यास, मेहनत र अनुशासनलाई कायम राख्नुपर्ने बताउनुभयो । खेलाडीले आफ्नो व्यक्तिगत सफलतासँगै समाज र राष्ट्रको प्रतिष्ठा बढाउने भएकाले उनीहरूको क्षमता विकासमा सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले खेलकुदको विकास, प्रतिभाशाली खेलाडीको प्रोत्साहन र आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्दै यस्ता प्रदेशस्तरीय कार्यक्रमले नयाँ खेलाडी उत्पादन र कराते खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

 

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य राजु महर्जनले खेलकुद क्षेत्रको विकासका लागि प्रशिक्षक उत्पादनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कराते खेलको लोकप्रियता बढ्दै गए पनि आवश्यक संख्यामा दक्ष प्रशिक्षक उत्पादन हुन नसकेको बताउनुभयो । प्रशिक्षक अभावका कारण धेरै स्थानमा स्वयंसेवक र अनुभवी खेलाडीहरूले प्रशिक्षणको जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै स्थानीय तहले यसतर्फ योजनाबद्ध रूपमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । महर्जनले खेलाडी राष्ट्रको पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण शक्ति भएकाले उनीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण, आवश्यक पूर्वाधार र अवसर सुनिश्चित गर्न सबै तहका सरकार तथा सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । खेलाडीको मेहनत र अनुशासनले मात्र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन सकिने भएकाले खेलकुद क्षेत्रमा दीर्घकालीन नीति र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । त्यसैगरी, लुम्बिनी प्रदेश कराते महासंघका उपाध्यक्ष पदमबहादुर बस्नेतले नेपाल सितोरियो कराते संघको केन्द्रीय स्वीकृत कार्यक्रमअन्तर्गत प्रदेशस्तरीय ब्ल्याक बेल्ट ग्रेडिङ तथा दीक्षान्त समारोह आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले यस्तो कार्यक्रमले खेलाडीको सीप परीक्षण, क्षमता अभिवृद्धि र कराते खेलप्रतिको विश्वास अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

 

बस्नेतले ब्ल्याक बेल्ट प्राप्त गर्नु केवल एउटा प्रमाणपत्र हासिल गर्नु मात्र नभई थप जिम्मेवारीको सुरुआत भएको उल्लेख गर्नुभयो। उहाँले अनुशासन, लगनशीलता र निरन्तर अभ्यासका माध्यमबाट मात्र उत्कृष्ट खेलाडी र सक्षम प्रशिक्षक बन्न सकिने बताउँदै खेलाडीहरूलाई निरन्तर मेहनत गर्न आग्रह गर्नुभयो । कराते खेलको विकासका लागि संघ, प्रशिक्षक, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । समारोहमा नेपाल सितोरियो कराते संघका केन्द्रीय प्रतिनिधि जानकी महर्जन, प्रशिक्षक उमेश थापा, बर्दिया कराते संघका अध्यक्ष सन्दीप चौधरी, जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यालय प्रमुख राजु बयम्बु तथा समाजसेवी सुरेश थापा मगरलगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा नेपाल सितोरियो कराते संघ पाल्पाका उपाध्यक्ष जितबहादुर चौहानले सहभागी अतिथि, खेलाडी तथा प्रशिक्षार्थीलाई स्वागत गर्नुभएको थियो । लुम्बिनी प्रदेशभरबाट सहभागी भएका खेलाडीहरूले ब्ल्याक बेल्ट ग्रेडिङ प्रक्रियामा सहभागिता जनाएका छन् भने सफल हुने खेलाडीलाई दीक्षान्तमार्फत सम्मानित गरिने आयोजकले जनाएको छ । नेपाल सितोरियो कराते संघ लुम्बिनी प्रदेशका अध्यक्ष सन्तोष सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कराते खेलको गुणस्तरीय विकास, प्रशिक्षक उत्पादन, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रदेशस्तरमा प्रतिस्पर्धात्मक वातावरण निर्माणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो । आयोजकका अनुसार ग्रेडिङ प्रक्रियाले खेलाडीको प्राविधिक दक्षता, अनुशासन र क्षमताको मूल्यांकन गर्ने भएकाले यसले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाडी तयार पार्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

Comments