पाल्पामा एलपी ग्यासको अभाव, पालो प्रणालीबाट वितरण गर्न ग्यास डिलर्स संघको आग्रह
पाल्पा — पाल्पामा एलपी ग्यासको अभाव देखिएपछि पाल्पा ग्यास डिलर्स संघले पालो प्रणालीमार्फत ग्यास वितरण गरिने जनाएको छ । संघका अध्यक्ष परशुराम पौड्यालद्वारा जारी जानकारीअनुसार रूपन्देही र परासी जिल्लास्थित विभिन्न ग्यास उद्योगबाट पाल्पामा ग्यास आपूर्ति हुँदै आए पनि पछिल्ला केही दिनदेखि १४.२ केजी एलपी ग्यास सिलिण्डरको आपूर्तिमा कमी आएको छ । यसका कारण उपभोक्ताले नियमित रूपमा ग्यास प्राप्त गर्न नसकेको जनाइएको छ ।
देशभर ग्यास अभाव भएको समाचार सार्वजनिक भएपछि उपभोक्तामा त्रास बढ्दै गएको र एकैपटक ग्यास खरिद गर्ने प्रवृत्ति बढेका कारण समस्या थप जटिल बनेको संघले जनाएको छ । केही उद्योगबाट सीमित मात्रामा ग्यास आइरहेको र केही उद्योगबाट लामो समयदेखि आपूर्ति नभएको पनि उल्लेख गरिएको छ । यस अवस्थालाई व्यवस्थित गर्न संघले उपभोक्तालाई सम्बन्धित डिलरमा नाम, ठेगाना र मोबाइल नम्बर दर्ता गरी पालोअनुसार ग्यास लिन आग्रह गरेको छ। डिलरहरूले खरिद–बिक्रीको अभिलेख पारदर्शी रूपमा राख्न, पालोअनुसार ग्यास वितरण गर्न तथा नयाँ सिलिण्डर नयाँ उपभोक्तालाई मात्र बिक्री गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, एक उपभोक्तालाई एकपटकमा एउटा मात्र सिलिण्डर उपलब्ध गराउने, सम्बन्धित डिलरबाट मात्र ग्यास खरिद–बिक्री गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री नगर्न पनि संघले आग्रह गरेको छ। मूल्यभन्दा बढीमा बिक्री गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । संघले प्रत्येक डिलरलाई कम्तीमा १५ वटा सिलिण्डर मौज्दात राखी आपत्कालीन अवस्था, असहाय, बिरामी तथा विद्यार्थीका लागि उपलब्ध गराउन समेत निर्देशन दिएको छ। साथै, उपभोक्तालाई अनावश्यक रूपमा ग्यास मौज्दात नगरी आवश्यकताअनुसार मात्रै खरिद गर्न अनुरोध गरिएको छ।









































Comments