नारायण युवा क्लबको २९औँ वार्षिकोत्सवमा अमरनारायण मन्दिर परिसरमा बृहत् सरसफाइ अभियान सम्पन्न

तानसेन, पाल्पा ।

नारायण युवा क्लबको २९औँ वार्षिकोत्सवको अवसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको पवित्र स्थल अमरनारायण मन्दिर तथा फूलबारी परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उहाले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। अमरनारायण मन्दिर तानसेनको पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको सरसफाइ, संरक्षण र प्रवर्द्धनमा नगरपालिकाले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नारायण युवा क्लबले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर सरसफाइ अभियान सञ्चालन गरेको कार्य प्रशंसनीय रहेको बताउँदै युवाहरूको यस्तो सक्रियताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।

 

 

कार्यक्रममा नारायण युवा क्लबका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले क्लब स्थापना कालदेखि नै सामाजिक सेवा, सम्पदा संरक्षण र युवालाई समाजसेवामा जोड्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले अमरनारायण मन्दिर तथा फूलबारी परिसरको सरसफाइ अभियानले धार्मिक सम्पदाको संरक्षणसँगै वातावरणीय सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारु, सशस्त्र प्रहरी बल नेपाल गुल्मका प्रहरी नायब उपरीक्षक, तानसेन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष, पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष, तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा अमरनारायण गुठी व्यवस्थापन समितिका अध्यक्ष युवराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो।

 

सरसफाइ अभियानमा नारायण युवा क्लबका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरू, दी फेमस महिन्द्रा गणका जवानहरू, जिल्ला प्रहरी कार्यालय पाल्पा र सशस्त्र प्रहरी बल नेपाल गुल्मका सुरक्षाकर्मी, वडा नं. २ अन्तर्गतका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, नाटा च्याप्टर पाल्पाको टोली तथा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले अमरनारायण मन्दिर तथा फूलबारी परिसरको सरसफाइ गर्दै धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षणमा सामूहिक जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ । सहभागीहरूले यस्ता अभियानले वातावरण संरक्षण, सांस्कृतिक सम्पदाको संवर्द्धन र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । नारायण युवा क्लबका अध्यक्ष बिनायक महर्जनले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सुरक्षाकर्मीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

Comments