नारायण युवा क्लबको आयोजनामा तानसेन वडा नं. २ मा तीनदिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु
पाल्पा-नारायण युवा क्लब, तानसेन वडा नं. २, पाल्पाको आयोजनामा तथा तानसेन नगरपालिका वडा नं. २ कार्यालयको सहयोगमा तीनदिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ। युवाहरूमा नेतृत्व क्षमता विकास गर्ने, सामाजिक उत्तरदायित्व बोध गराउने तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यसहित उक्त तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले युवाहरू समाज परिवर्तनका प्रमुख आधार भएको उल्लेख गर्दै क्लबका युवाहरू विभिन्न रचनात्मक तथा सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी हुँदै आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले वर्तमान समयमा समाजमा देखिएका सामाजिक, आर्थिक तथा राजनीतिक चुनौतीहरूलाई सकारात्मक सोच, अनुशासन र असल अभ्यासमार्फत समाधान गर्न सकिने बताउँदै युवाहरूले खराब प्रवृत्तिलाई त्यागेर असल मार्गमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, राम्रा कार्यहरूको पहिचान गरी तिनलाई आत्मसात् गर्दै समाज रूपान्तरणमा योगदान दिन सबैलाई आग्रह गर्नुभयो।
नारायण युवा क्लबका संस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठले नेतृत्व कुनै पनि संगठन, समाज वा राष्ट्रको सफलताको आधार भएको बताउँदै नेतृत्व बिना कुनै पनि क्षेत्रमा दीगो विकास सम्भव नहुने धारणा राख्नुभयो। उहाँले तालिम केवल औपचारिक कार्यक्रम मात्र नभई सिकाइको अवसर भएको उल्लेख गर्दै सहभागीहरूलाई सक्रिय रूपमा सहभागी भई नयाँ ज्ञान र सीप हासिल गर्न आग्रह गर्नुभयो। साथै, सिकेको ज्ञानलाई व्यवहारमा उतारेर आफू मात्र होइन, समाजलाई पनि लाभ हुने गरी प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी तानसेन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले वडाले पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले युवाहरूलाई नेतृत्वमा अघि बढाउने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको उल्लेख गर्दै युवाहरूमा क्षमता भए पनि सही मार्गदर्शन र अवसरको कमीका कारण धेरैजना नेतृत्व भूमिकामा आउन नसकेको बताउनुभयो। तालिमले त्यस्ता कमीहरू पूरा गर्न मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
तानसेन नगरपालिका कार्यपालिका सदस्य सोभिता भट्टराईले वडा कार्यालयले सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले मादल बजाउने, जनै बनाउने, अचार बनाउने लगायतका तालिमहरू सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत निरन्तर सञ्चालन गरिँदै आएको बताउनुभयो। उहाँका अनुसार यस्ता सीपमूलक तालिमले नागरिकको आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछन । तानसेन नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कौशल घिमिरेले युवाहरूको नेतृत्व क्षमता विकासका लागि यस्ता तालिम अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले व्यक्तित्व विकास, निर्णय क्षमता, समूह नेतृत्व र सामाजिक सहभागिता जस्ता पक्षहरू बलियो बनाउन तालिमले महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्लबका अध्यक्ष विनायक महर्जनले क्लबले वि.सं. २०५४ सालदेखि नै सांस्कृतिक, सामाजिक तथा खेलकुदका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो। उहाँले नागरिकको क्षमता विकास, सीप अभिवृद्धि तथा रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस तालिममा नेतृत्व विकास, व्यक्तित्व निर्माण, संवाद सीप, समूह व्यवस्थापन तथा सामाजिक जिम्मेवारीसम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
क्लबका सहसचिव विनाेद भारतीले तालिम सम्पन्न भएपछि सहभागीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै आफ्ना समुदायमा नेतृत्व भूमिका निर्वाह गर्न सक्षम हुने अपेक्षा गरिएको बताउनुभयो । तालिमलाई युवाहरूको क्षमता अभिवृद्धि र सामाजिक रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको उहाले बताउनुभयो ।









































Comments