कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पाल्पा— नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत उहाँको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत उहाँको निधनको पुष्टि गर्दै बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिएका छन । श्रेष्ठ नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो। उहाँ स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो भने २०४८ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो।
राजनीतिक जीवनमा उहाँले भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री तथा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्नुभएको थियो। नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिको भूमिकासमेत निर्वाह गर्नुभएका श्रेष्ठ लोकतान्त्रिक आन्दोलनका अग्रणी नेतामध्ये एक मानिनुहुन्थ्यो । वि स २०१७ सालदेखि विद्यार्थी जीवनबाटै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुभएको थियो। लोकतन्त्र स्थापना, शान्ति प्रक्रिया अघि बढाउने अभियान तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न उहाँले उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। अर्थशास्त्रका स्नातक श्रेष्ठ व्यापार व्यवसायसँग पनि आबद्ध हुनुहुन्थ्यो भने नेपाल रेडक्रसका आजीवन सदस्यसमेत हुनुहुन्थ्यो। राजनीतिक यात्राका क्रममा उहाँले करिब साढे पाँच वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो।
यसैबीच, नेपाली कांग्रेस पाल्पाले पनि स्वर्गीय नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा जारी वक्तव्यमा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, अनुभवी राजनीतिज्ञ तथा पार्टीका वरिष्ठ नेताको निधनले नेपाली कांग्रेस र समग्र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ। नेपाली कांग्रेस पाल्पाका अनुसार बुधबार बीपी स्मृति भवन, तानसेनस्थित पार्टी कार्यालयमा शोकसभा आयोजना गरिनेछ। साथै, श्रद्धाञ्जली अर्पण गर्न इच्छुक नेता, कार्यकर्ता तथा शुभेच्छुकका लागि शोक पुस्तिका पनि पार्टी कार्यालयमा राखिने जानकारी दिइएको छ।









































Comments