कांग्रेस पाल्पाले असार २० सम्म सदस्यता नवीकरण अभियान तीव्र बनाउने
पाल्पा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण दोस्रो चरण अभियान अन्तर्गत केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुना भुसालको विशेष उपस्थितिमा पाल्पामा जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ। सोही अवसरमा रामपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मानसमेत गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मुना भुसालले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले दोस्रो चरणको क्रियाशील सदस्यता नवीकरण अभियानको म्याद असार २० गतेसम्म थप गरेको जानकारी दिँदै सबै क्रियाशील सदस्यलाई डिजिटल पोर्टलमार्फत समयमै सदस्यता नवीकरण गर्न आग्रह गर्नुभयो। उहाँले पार्टीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन डिजिटल प्रणालीलाई प्राथमिकता दिइएको उल्लेख गर्दै पाल्पाका १० वटै पालिकाले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरी कुनै पनि सदस्य छुट्न नदिने गरी काम गर्न निर्देशन दिनुभयो । नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले बैठकले तीन महत्वपूर्ण निर्णय गरेको जानकारी दिनुभयो। उहाँका अनुसार असार २० गतेसम्म सदस्यता नवीकरण अभियानलाई तीव्रता दिने, स्थानीय तह पुनःसंरचनासम्बन्धी विषय अध्ययनका लागि पार्टी सचिव सन्तोष थापा मगरको संयोजकत्वमा समिति गठन गर्ने तथा वर्षायामलाई मध्यनजर गर्दै तरुण दल पाल्पाका नेता रवि गुरुङको संयोजकत्वमा १०१ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ।
संघीय सांसद सन्दिप रानाले पार्टी संगठनलाई जनस्तरसम्म थप मजबुत बनाउन क्रियाशील सदस्यता नवीकरण अभियान सफल हुन आवश्यक रहेको बताउनुभयो। उहाँले सबै नेता–कार्यकर्तालाई जिम्मेवारीपूर्वक अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो । नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले पार्टीभित्रको एकता, अनुशासन र संगठन विस्तारलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै सदस्यता नवीकरण अभियानलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
क्षेत्र नं. १ का सभापति झमनराज मगरले वडा तहदेखि नै सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो भने क्षेत्र नं. २ का सभापति मुक्तिराम जिसीले सदस्यता नवीकरणलाई संगठन सुदृढीकरणको महत्वपूर्ण अभियानका रूपमा सफल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र तथा पालिकाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पार्टी सचिव सुनिता अधिकारीले गर्नुभएको थियो।









































Comments