जेठ १६ गते तानसेन भिमसेन टोलमा १ दिने सडक खाना महोत्सव हुँदै !
तानसेन नगरपालिका वडा नं ६ को भिमसेन टोलमा जेठ १६ गते एक दिने सडक खाना महोत्सव आयोजना हुने भएको छ । स्थानीय संस्कृति, परम्परागत परिकार र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै आयोजना गर्न लागिएको उक्त महोत्सवले भिमसेन टोललाई सांस्कृतिक, सामाजिक तथा आर्थिक रूपमा थप सबल बनाउने अपेक्षा गरिएको छ । आयोजक भिमसेन टोल विकास संस्थाका अनुसार महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा तानसेन वडा नं ६ का वडा अध्यक्ष सागर मान महर्जनले स्थानीय स्तरमा यस्ता कार्यक्रमले आर्थिक गतिविधि बढाउने मात्र नभई स्वरोजगार, उद्यमशीलता र स्थानीय उत्पादन प्रवर्द्धनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त भयो। वडा अध्यक्ष महर्जनले भने, “भिमसेन टोलमा आयोजना हुन लागेको यो सडक खाना महोत्सवले वडाको पहिचानलाई अझ मजबुत बनाउनेछ । स्थानीय उत्पादन, परिकार र संस्कृति प्रदर्शन गर्ने यो राम्रो अवसर हो।” उहाले वडा कार्यालयले यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल राज तिमिल्सिनाले स्थानीय संस्कृति र खानाका परिकारलाई पर्यटनसँग जोड्न सके दीर्घकालीन आर्थिक लाभ लिन सकिने बताउनुभयो । उहाले परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताउदै यस्ता कार्यक्रमहरूले स्थानीय अर्थतन्त्रलाई मात्र होइन, समुदायको पहिचानलाई पनि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत गर्ने बाउनुभयो । उहाले सञ्चार क्षेत्रको तर्फबाट यस्ता सकारात्मक गतिविधिहरूको प्रचार–प्रसारमा सहयोग गर्ने पनि बताउनुभयो ।
भिमसेन टोल विकास संस्थाकी उपाध्यक्ष पुतली देवी शाक्य श्रेष्ठले कार्यक्रम सफल बनाउन सबै स्थानीय बासिन्दा, युवा समूह, महिला समूह तथा सहयोगी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आगामी दिनमा अझ व्यवस्थित रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने हाम्रो योजना छ।” उहाले महिला तथा युवाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन भिमसेन टोल विकास संस्थाका सचिव बिरेन्द्र काजी शाक्य सञ्चालन र टोल विकास संस्थाका अध्यक्ष प्रकाश नाथ गंगोलले अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष गंगोलले महोत्सवलाई केवल मनोरञ्जनको कार्यक्रम नभई स्थानीय संस्कृति संरक्षण, सामाजिक एकता र आर्थिक विकासको महत्वपूर्ण माध्यमको रूपमा व्याख्या भयो । उहाले टोलको पहिचान जोगाउन र नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेकाे बताउनुभयो । महोत्सवमा स्थानीय परिकारहरूको विशेष आकर्षण रहने आयोजकले जनाएका छन । नेवारी,मगरी,मुस्लिम लगाएतका खानेकुरा स्टलमा राखिनेछ । स्थानीय महिला समूह र युवा उद्यमीहरूले आफ्ना परिकार प्रदर्शन तथा बिक्री गर्नेछन्, जसले उनीहरूको आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै स्थानीय उत्पादनलाई प्रत्यक्ष बजारसम्म पुर्याउने अवसर पनि यस महोत्सवले प्रदान गर्ने विश्वास गरिएको छ।
सांस्कृतिक कार्यक्रमहरू पनि महोत्सवको महत्वपूर्ण आकर्षण रहनेछन्। स्थानीय कलाकारहरूले नृत्य, गीत तथा परम्परागत सांस्कृतिक प्रस्तुति दिनेछन्, जसले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउनेछ । यस्ता प्रस्तुतीहरूले नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ। सयौं स्थानीय बासिन्दा तथा आगन्तुकहरूको सहभागिता रहने अनुमान गरिएको छ । महोत्सवले तानसेनको पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायबीच आपसी सद्भाव, सहकार्य र एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।









































Comments