जेठ ९ गते प्रथम बर्तुङ्ग खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम’ हुँदै !
तानसेन, पाल्पामा स्थानीय रैथाने खानाको प्रवर्धन, संरक्षण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पाल्पाको तानसेनमा पहिलो पटक ‘प्रथम बर्तुङ्ग खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८३’ आयोजना हुने भएको छ । तानसेन नगरपालिका वडा नं. ६, बर्तुङ्गस्थित ७ वटा टोल विकास संस्थाहरूको संयुक्त सहकार्य र मूल आयोजक समितिको व्यवस्थापनमा आगामी जेठ ९ गते शनिबारका दिन यो महोत्सव हुन लागेको हो।महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्ति अनुसार, कार्यक्रम तानसेन ६ बर्तुङ्गस्थित ‘स्वागतम् होटल एण्ड रेष्टुरेण्ट’ मा सञ्चालन हुनेछ। ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवले पाल्पाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा ठुलो टेवा पुर्याउने विश्वास लिइएको छ ।
महोत्सव मूल आयोजक समितिका अध्यक्ष भूमिकला बुढाथोकीका अनुसार यहाँका रैथाने खाना तथा परिकारहरूको विशिष्ट गुणस्तरियता प्रदर्शन र प्रवर्धन गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो। महोत्सवमा लोपोन्मुख अवस्थामा पुगेका विभिन्न जातजाति र समुदायका रैथाने खानाहरू जस्तै: बटुक, चुकाउनी, पकौडा, सेलरोटी र योमरी लगायतका परिकारहरूको पहिचान र प्रचार-प्रसार गरिनेछ । स्थानीय गोमा गैरेका अनुसार पाल्पाको लोकप्रिय रैथाने परिकार 'बटुक' लाई विशेष प्रवर्धन गरिनेछ। महोत्सवमा आगन्तुकहरूलाई आकर्षित गर्न बटुक बनाउने प्रत्यक्ष विधि (तरिका) समेत प्रस्तुत गरिने तयारी छ। यस्तै, स्थानीय सुदर्शन कोईरालाले यो खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रमले ओझेलमा परेका स्थानीय स्वाद र संस्कृतिलाई देश-विदेशमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
महोत्सवलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न व्यवस्थापकीय तयारीहरू गरिएका छन । महोत्सवमा १५ वटा भन्दा बढी खानाका स्टलहरू रहनेछन्, जहाँ आगन्तुकहरूले एउटै थलोमा विविध स्थानीय स्वादहरूको आनन्द लिन सक्नेछन । महोत्सव सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा तानसेन नगरपालिका वडा नं. ६ बाट १ लाख रुपैयाँ विनियोजन भएको छ। महोत्सवमा ५ हजारभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति, सांस्कृतिक झाँकी र विभिन्न प्रतियोगिताहरू समावेश हुनेछन्। महोत्सवलाई अनुशासित र पारिवारिक वातावरणमा सम्पन्न गर्नका लागि मेला स्थलमा मदिरा सेवन र बिक्री-वितरणमा कडाइका साथ रोक लगाइने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै तानसेन वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले स्थानीय कला, संस्कृति र अर्थतन्त्रलाई चलायमान बनाउन वडा कार्यालयले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले पाल्पाको पर्यटन र खानाको ब्रान्डिङका लागि सञ्चार जगत्ले व्यापक प्रचार-प्रसार गर्ने उल्लेख गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
तानसेन ६ का वडा सचिव विशाल ओलीले यहाँ बनाउने बटुक र खाजाका परिकारले धेरै क्षेत्र अन्तरनिहित रहेको बताउनुभयो । उहाँले बटुक विक्रि गर्ने स्थानीयले गुणस्तरमा थप ध्यान दिन अनुरोध गर्नुभयो ।आयोजकले यस ऐतिहासिक महोत्सवलाई सफल बनाउन सम्पूर्ण सञ्चारमाध्यम र आम जनमानसलाई उपस्थितिका लागि हार्दिक अपिल गरेको छ ।









































Comments