जानेहरूलाई जान दिनू
✍️जिबि मगर
जानेहरूलाई जान दिजिबीनू
नरोक्नू उनीहरूको यात्रा
नरोक्नू अगाडि बढिरहेका पाइलाहरूलाई
जस्तै-
वितेर गईसक्यो- अस्ति र हिजोहरू
हप्ता,महिना र सालहरू
जानेहरूलाई जान दिनू
नरोक्नू आफ्नो बाटो समाउनेहरूलाई
जसरी-
घाम पश्चिम दिशा जाने गर्छन् अस्ताउन
हावा- हावा संगै बहेर आफू खुशी गईरहेछन्
वाष्प उड्दै उड्दै आकाश छुन आकाशतिर गईरहेछन्
धुवाँ बादल भेट्न उड्दै माथि माथि गईरहन्छन्
जानेहरूलाई जान दिनू
नरोक्नू तिनीहरूको गतिशिलतालाई
जस्तो कि-
गईरहेको छ समय आफ्नै गतिमा
बगिरहेको छ खोला सागर भेट्नलाई
जानेहरूलाई जान दिनू-
नरोक्नू तिनीहरूको गतिविधिहरू
जहाँ-
फूलहरू फक्रिन्छन्, ओईलिन्छन् र झरिरहेका छन्
जून- चाँदनी बन्छ र पूर्णचन्द्र भएर उज्यालो छाउँछ
जानेहरूलाई जान दिनू
नरोक्नू तिनीहरूको चाल/पाईलालाई
जो जो-
तिमीबाट टाढिएर गईरहेका छन्
एकदिन फर्किनेछन् गल्तीको प्रयाश्चित्तमा हात जोड्दै
बगेर गएको पानी/उडेर गएको वाष्प-
पुन: वृष्टि भएर धर्ती मै आईपुग्नेछन्
झरेका फूलका दानाबाट- अङ्कुराउँदै मुना लाग्नेछन्
अस्ताएको घाम- मिर्मिरेमा सुनौलो बनेर उदाउनेछ
अतितका पलहरूको स्मृतिमा नअल्झिनू
छोडेर जानेहरूको यादमा नरुमल्लिनू
गुमाईसकेकाहरूको सम्झनामा नरुनू
वर्तमान तिम्रो हो- त्यसैमा रमाउनू
भविष्य दोस्रो पुस्ताका हुन्- त्यसलाई सिँगार्नू
तिम्रा प्रगतिपथका दोबहरू अनन्त काल पछाईरहनेछन्
जानेहरूलाई जान दिनू
नरोक्नू तिनीहरूलाई
तर
जानेहरू संगै जानबाट तिमीलाई रोक्नू
छोडेर जानेहरू नफर्किने गरि जान पनि सक्छन्
जानेहरूको बहकाउमा लागेर तिमी आफू नहराउनू ।
निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा
मिति-२०८०/१०/०८








































Comments